दाङमा मोटरसाइकल र ट्याक्टर ठक्कर खाँदा मोटरसाइकलमा सवार २ जनाको निधन

काठमाडौं । दाङमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा २ जनाको ज्यान गएको छ ।

३ जना सवार रहेको मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिंदा मोटरसाइकलमा सवार रहेका २ जनाको ज्यान गएको हो । त्यस्तै मोटरसाइकलमा सवार १ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार राति करिब सवा ८ बजेको समयमा जिल्लाको तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ त ३४४१ नम्बरको ट्याक्टरले तुलसीपुरतर्फ आउँदै गरेको रा ६ प १४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दंगिशरण गाउँपालिका वडा नम्बर ५ लौबस्ता भन्ने स्थानमा भएको उक्त दुर्घटनामा सोही गाउँपालिका वडा नम्बर ३ हेकुलीका २५ वर्षीय विवेक थापा तथा वडा नम्बर ४ बैबाङका २६ वर्षीय दिनेश खड्काको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बाँकेको कोहलपुर अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनीहरुको निधन भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै दुर्घटनामा घाइते भएका २४ वर्षीय आकाश कँडेलको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

कमेन्टहरु
Loading...