आगो ताप्ने क्रममा जलेर १ सय १ वर्षीया वृद्धाको निधन

खोटाङ । आगो ताप्ने क्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १ सय १ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार निधन भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा निधन भएको हो ।

शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा निधन भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक रहेकी थिइन् ।

वडाध्यक्ष फुयाँलका अनुसार वृद्धावस्थामा पुगेका कारण हिमादेवी लामो समयदेखि बोल्न असमर्थ चिइन् । लुगा डढेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि हिमादेवीलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए । हिमादेवीको निधन भएको बारेमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताएका छन् । मृतक हिमादेवीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...