- सौगात पोखरेल
जीन्दगीले खासै ठुलो कुरा सोच्न सिकाएन । वा मैले जीन्दगीलाई उतिसाह्रो ठुलो मान्न पनि सकिन । जीवन र मृत्यु सत्य हुन् । हामी फगत स्कुले हाफट्याम जीन्दगी बाँचेर अहम पालिरहेका हुन्छौँ । हाफ टाइम त खुशि भएर बिताउने पो हो त हामी त त्यहि समय अरुलाई खसाउन, मिल्काउन र पछार्ने कसरत गरिरहेका हुन्छौँ ।
मेरा मगजमा केहि प्रश्नहरु यसरी उव्जीरहेका हुन्छन् ति प्रश्नहरुले झन मलाई केटाकेटी बनाउछ । खासमा केटाकेटीहरु नै त आफ्ना लागि बाँच्छन नि होईन ? करिव तीन बर्ष अगाडी हुँदो हो । मेरी आमाको देहान्त भयो । हामीले सकुन्जेल उपचार गरेकै हो । उपचारमा सिप नलागे पनि उहाँले हामीलाई छाडेर जानु भो । सायद उहाँको हामीसँग बस्ने मिति पुगेको थियो । मलाई यी सबै कुरा सहज नै लागेको थियो । मलाई सहानभुति दिन आएकाहरुको रुवाबासी देखेर उल्टो दिग्दारी देखाएका थिए । उनीहरुको रुवाई हेर्दा लाग्थ्यो हामीलाई बिचल्ली बनाएर ममी बित्नु भएको थियो । तर सत्य त त्यस्तो थिएन । हामीलाई आफ्नै खुट्टामा उभिन सक्ने भएर उहाँ जानु भएको थियो । तर समाजले हामीलाई टुहुरो सम्झन्छ । कति सेन्टी कुरा गर्नु अव केहि रमाईलो कुरा पनि गरौँ ।
एकदिन साथीले भेट्न आफ्नै अफिसमा बोलायो । जसलाई म सानैदेखि गज्जबले चिन्छु । साथीले पैसा पनि राम्रै कमाएछ । म उसलाई साथी भनेर भेट्न गएको उ त व्यपारी बनिसकेछ । उसलाई भेट्न जाँदा उसको अफिसको गार्डले जुत्ता खोल्न लगायो । मलाई त्यो बेला उसले मेरो जुत्ता खोल्न लगाएको मात्र लागेन मेरो दृष्टीकोण र मेरो जीवनशैलीमाथी प्रश्न गरिरहेको झै लाग्यो । यसो भित्र पसेँ अनि देखे तपाईं सिसि क्यामेराको निगरानीमा हुनुहुन्छ । साला जीन्दगीमा कहिल्यै कसैको निगरानीमा नपरेको मान्छेलाई मेरै बालसखाले किन निगरानी गरिरहेको छ ? त्यति सोचि भ्याउँदा नभ्याउँदै सुकिलो कपडा लगाएर फेन्सिमा राखेको डमीजस्ती केटि आएर नमस्कार गर्दै उर्दी जारी गरि सर एकछिन बिजि हुनुहुन्छ । एकछिन यहि वेटिङ रुममा बस्नुस है भनेर बसि ।
बाल्यकाल त हामीले उस्तै उस्तै तरिकाले बिताएका हौँ । खास जीन्दगी पनि हामीले त्यहि समय बाँचेका थियौँ । आजकाल साथीले जीन्दगी बाँचेको अभिनय गर्न थालेको रहेछ भन्ने लागेपछि म पनि अलिक व्यस्त छु तपाईंको सरलाई गए भनेर भन्दिनु है भनेर त्यहाँबाट निस्किए । म उसको अफिसबाट जुत्ता पनि लगाएर निस्किए । अनि मात्र मलाई बल्ल म भएझै लाग्यो ।
मलाई जुत्ता खोल्दा यस्तो लाग्छ कि म मेरो सबथोक खोलिरहेछ । रित्तिएको म कसरी भरीएको मसँग बहस गर्न सक्छु । तपाईंहरुले मृत्युसँग कसरी जोडेको भन्ने कुरा नबुझन्न पनि सक्नुहुन्छ । त्यसले मलाई खासै फरक पार्दैन । बाँच्नु वा मर्नु फगत शरिर ढल्नु मात्र होईन । तपाईं जुन दिन आँफु भएर बाँच्न थाल्नुहुन्छ वा भनेर जुत्ता खोलेर अरुमा समाहित हुनुहुन्छ । त्यो दिन तपाईं बाँच्नुको खास अर्थ हुँदैन ।