पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा कांग्रेसले आयोजना गर्ने विरोध कार्यक्रममा सहभागी हुन सबैलाई अपील गरेका छन् ।
कांग्रेसले भोलि माघ ८ गते बिहीबार ६ हजार ७ सय ४३ वटा वडाहरुमा प्रधानमन्त्री ओलीको कदमविरुद्ध विरोध कार्यक्रमको आयोजना गर्दै छ । सोही विरोध कार्यक्रममा सहभागी हुन आज प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले सबैलाई अपील गरेका हुन् ।
‘संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ ।’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु ।’
पार्टी सभापति देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमत भएको समेत स्पष्ट पारेका छन् । ‘पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपील गर्दछु ।’ सभापति देउवाले भनेका छन् ।