अत्याधिक चिसो तथा शीतलहरले पुस यता प्रदेश २ मा १ बालक सहित ४ जनाले ज्यान गुमाए

काठमाडौं । गत पुस यता अत्याधिक बढेको चिसोले प्रदेश नम्बर २ मा ४ जनाको ज्यान गएको छ ।

केही दिन यता बढेको अत्याधिक चिसो तथा कठ्यांग्रिदो जाडो, चिसो हावा, शीतलहर तथा सिरेटाका कारण उक्त प्रदेशमा १ जना बालक सहित ४ जनाले ज्यान गुमाएका हुन् । अध्याधिक शीतलहर तथा चिसोबाट प्रदेश २ मा ज्यान गुमाउनेमा सिराहाको मिर्चैया ७ का ८ वर्षीय बालक जाबिर राइन सहित कर्जन्हा ३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर १ का ८५ वर्षीय प्रयागीदेवी साह तथा सर्लाहीको हरिपूर्वा ४ का २४ वर्षीय रोजाई शेख रहेका छन् ।

उक्त प्रदेशका ८ वटा जिल्लाहरुमा ग्रामीण क्षेत्रका स्थानीय बढी शीतलहर तथा चिसोबाट प्रभावित रहेका छन् । उनीहरुलाई यसबाट बच्न करिब १ सय २७ स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।

विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने परिवारहरु न्यानो कपडा, ओढ्ने तथा ओछ्याउनेको अभावमा चिसोबाट जोगिन पराललाई नै गुन्द्री, डसना तथा ओड्नेका रुपमा प्रयोग गर्न बाध्य छन् ।

सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले तापक्रममा क्रमशः गिरावट आएको र बाक्लो कुहिरो तथा हुस्सु लागेकाले चिसोबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...