दिपक के श्रेष्ठ
नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका दौरान ३ हजार महिलाले बलिदानी दिएर गणतन्त्र आएको उल्लेख गरेका छन् ।
राजधानीमा आयोजित अखिल नेपाल महिला संघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उक्त बलिदानको खिल्ली उडाउँदै केपी ओलीले संसद विघटन गरेको बताउँदै महिलाहरु पुनः एकपटक जुर्मुराउनु पर्ने बताएका छन् । परिवर्तनको हरेक आन्दोलमा महिलाको योगदानले पार्टीले नबिर्सने उनको धारणा छ ।
‘तपाइहरु एकपटक गर्जिनुहोस्, प्रतिक्रियावादी ध्वस्त हुनेछन्’, दाहालले भने, ‘९ गते देशभर लाखौं जनतासहित सडकमा उत्रन्छौं, साथ दिनुहोस् ।’ उनले केपी नायक नभई खलनायक भएकाले एकाध महिना आन्दोलन अनिवार्य भएको टिप्पणी गरे ।
दाहालले मुलुकको प्रधानमन्त्री र पार्टीको अध्यक्षमा आलोपालो गर्ने सहमति भएपछि पत्याएर बस्दा मुलुकमा समस्या देखिएको बताएका छन् । केपीले टेरेको भए अहिले मुलुकमा यस्तो संकट आउने थिएन भन्दै अब आन्दोलनले सबै छिनोफानो गर्ने धारणा राखेका छन् ।
‘केपीले अब हामी दुबै पाइलट हौं, हाम्रो हैसियत बराबरी हो भने’ प्रचण्डले भने ‘मैले पनि पत्याए, अहिले देश र पार्टी दुबैको हविगत यस्तो भयो ।’ केपी ओलीमा मान्छेलाई फँसाउन सक्ने गज्जबको काइदा रहेको भन्दै उनले त्यसको शिकार आफै भएको उल्लेख गरे ।
सम्बोधनकाक्रममा दाहालले अब आफुले पनि आत्मसमीक्षा गर्नुपर्ने बेला भएको भन्दै ओलीले भनेको मान्दा लुटुपुट भएको गल्ती स्वीकारे । ‘उहाँले भनेको माने पार्टी बन्छ भनेर खुरुखुरु माने तर अहिले यस्तो भयो’ उनले प्रष्ट्याए ।
‘मैले तीनवटा भोटो बढी फटाएको छु, भनेको मान्दिनुस् भनेपछि मान्नै प¥यो’ उनले भने ‘अहिले जाली हस्ताक्षरमार्फत धोका दिए ।’ उक्त हस्ताक्षरमार्फत ओलीले लोकतन्त्रको हत्या गरेको टिप्पणी गरे ।
हाल सम्पूर्ण विषयमा अदालतमा रहेकाले कुनैपनि टिप्पणी नगर्ने भन्दै दाहालले अदालतप्रति विश्वास रहेको प्रष्ट पारे । तर उनले सबैभन्दा ठूलो अदालत जनताको अदालत भएको भन्दै यहाँबाट हुने फैसला कसैले बदल्न नसक्ने चेतावनी दिए ।