पोखरा । गण्डकी प्रदेश सांसद तथा कांग्रेस संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले गण्डकी प्रदेश सरकार बनाउन वा गिराउन कुनै भुमिका नखेल्ने बताएका छन् । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमामा बोल्दै दवाडीले समसामयिक राजनीतिक अवस्थामा कांग्रेसले प्रदेश सरकार बनाउन वा गिराउन कुनै भूमिका नखेल्ने बताएका हुन् ।
उनले अहिलेको परिवेशमा सत्ता समकिरणमा कुनै राय नभएको बताए । उनले भने, ‘अहिलेको अवस्था को कता जाने भनेर अलमल चलेको बेला कांग्रेस सत्ता समकिरणमा राय केही छैन यो प्रदेश कांग्रेसको कुरा हो ।’
नेकपाभित्रको घाम विवादको रापतापले दैनिक राष्ट्रिय राजनीतिमा खिचडी पाकिरहेको बताएका छन् । उनले प्रश्न गर्दै भने, ‘एकअर्काबिचको छेडछाड र घोचपेछ, अति निम्न स्तरीय भासा, के यही हो कम्युनिस्ट विश्वविद्यालयको पाठयक्रम ?’
दवाडीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फ्रान्सका राजा लुई चौधौंको संज्ञा दिएका छन् । उनले फ्रान्सका राजा लुई चौधौंको ‘म नै राज्य हुँ’ भन्ने छनक छरपस्ट देखिएको बताएका हुन् । यतिबेला प्रधानमन्त्री ओलीले पार्टी भित्रको आन्तरिक कलहले गर्दा प्रतिनिधिसभा विघटन गरेपश्चात् नेकपा २ पक्षमा विभाजन भएको छ ।
हालसम्म पार्टी फुटको औपचारिक घोषणा नआएपनि ओली र दाहाल पक्षले आ–आफ्नो बाटोमा हिडेका छन् । यस कलहमा टिप्पणी दिदै दवाडीले रातारात चोचोमोचो मिलाउन पुगेपनि नाता लामोसमयसम्म नटिक्नेमा शंका सुरुआतमा रहेको बताए । उनले भने, ‘२ धुर्वका पार्टी रातारात चोचोमोचो मिलाउन पुगेपनि हामीलाई शंका थियो, नेपाली जनताको लागि नभएको गठजोड टिक्नेवाला छैन ।’
उनले आफू प्रतिपक्षी सांसद हुँदा नेकपा विभाजा भइरहदा खुसी लाग्नुपर्ने भएपनि कोरोना महामारीको समयमा जनमतको अपमान गर्दा खुसी हुने ठाँउ नभएको बताए । नेकपाले आफूलाई मात्र नभई व्यवस्था, जनताको राजनीतिप्रतिको आस्थालाई सिध्याएको उनको भनाई छ । नेकपाले यसको जवाफ कठघरामा उभिएर जवाफ दिनुपर्ने दवाडीले बताएका छन् ।
निर्वाचन क्षेत्रमा तलब भत्ताले ९ लाख सहयोग
गोरखा क्षेत्र नम्बर २ (ख) बाट गण्डकी प्रदेश सांसदमा निर्वाचित सांसद दवाडीले तलब भत्ताबाट ९ लाख सहयोग गरेका छन् । उनले सांसद भएबापत आउने सेवासुविधा सहित व्यक्तिगत रुपमा थपेर आफ्नो निर्वाचन क्षेत्रमा ९ लाख सहयोग गरेका हुन् । उनले पहिलो वर्ष १२ लाखभन्दा बढी निर्वाचन क्षेत्रमा सेवासुविधा र व्यक्तिगत रकम थपेर सहयोग गरेको जानकारी दिएका छन् ।
त्यस्तै दोस्रो वर्ष १० लाख हाराहारीमा सहयोग गरेका छन् । आफ्नो क्षेत्रमा उनको प्राथमिकता शुलिकोट बारपाक गाउँपालिका रहेको उनी बताउँछन् । विकट र शिक्षा स्वास्थ सम्बन्धी जनचेतना नभएको स्थान भएको उनको प्राथमिकता शुलिकोट रहेको उनको भनाई ।