विघटनविरुद्ध आन्दोलन गर्न युवा विद्यार्थीलाई आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको एकतामा गरिएको सहमति कार्यान्वयनमा आफूले देखाएको उदारता नै कमजोरी रहेको बताएका छन्।

काठमाडौंमा आज आयोजित अनेरास्ववियूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीको एक नेताले अल्पमतमा परेपछि सजिलै छाडिदिएको भए पार्टी फुट्न अवस्था नआउने थिएन बताए ।

मुलुकमा प्रतिनिधिसभा विघटन गरी संविधानमाथि प्रहार भएको जिकिर गर्दै पूर्वप्रधानमन्त्री दाहालले अब हुन सक्ने षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्न युवा तथा विद्यार्थीलाई आह्वान गरे

उनले प्रतिनिधिसभा र पार्टीको आधिकारिकताका विषयमा अदालत र निर्वाचन आयोगप्रति आफ्नो विश्वास रहेको र सबैभन्दा बढी भरोसा जनतामा रहेको जनाए ।

उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालत र निर्वाचन आयोगले तजबिजीभन्दा पनि कानून र संविधानका आधारमा निर्णय लिने विश्वास व्यक्त गरे ।

नेकपा स्थायी कमिटी सदस्य भीमबहादुर रावलले र सुरेन्द्रप्रसाद पाण्डेले प्रतिगमनविरुद्धको हरेक मोर्चामा युवा विद्यार्थी अग्रपङ्तिमा रहेको इतिहास स्मरण गर्दै यसपालि पनि फेरि विद्यार्थी जाग्ने बेला आएको बताए। अर्का नेता हितमान शाक्यले प्रतिनिधिसभा विघटन संविधानविरुद्ध सशक्त प्रतिकार गर्न आग्रह गरे ।

कमेन्टहरु
Loading...