लाखौं जनता सडकमा उतारेर माघ ९ मा आन्दोलनबाट काठमाडौंलाई अस्तव्यस्त बनाउनुपर्छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका वरिष्ठ नेता झलनाथ खनालले आफू तत्कालीन एमालेको अध्यक्ष हुँदा नै ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा बनेको दावी गरेका छन् ।

आज प्रज्ञा भवनमा प्रचण्ड–नेपाल पक्षीय भेलामा सम्बोधन गर्दै उनले वर्तमान प्रधामन्त्री केपी शर्मा ओलीले आफू अध्यक्ष भएको समयमा लागू भएको उक्त नारा दुरुपयोग गरेको आरोप समेत लगाएका छन् । ओलीले उक्त नारालाई आफैंले बनाएको जस्तो गरेको नेता खनालको आरोप थियो । कार्यक्रममा उनले नेकपा प्रचण्ड–नेपाल पक्षले माघ ९ गते सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आयोजना गर्ने विरोध कार्यक्रममा सहभागी हुन समेत सबैलाई आह्वान गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध तीव्र तथा कडा आन्दोलनको आवश्यक रहेको भन्दै नेता खनालले ९ गते काठमाडौं उपत्यका नै अस्तव्यस्त बनाउनुपर्ने बताएका छन् । २ लाख जनतालाई आन्दोलनका क्रममा काठमाडौंका सडकमा उतारेर उपत्यका नै अस्तव्यस्त बनाउनुपर्ने बताएका हुन् ।

कार्यक्रम अवधिभरी प्रधानमन्त्री ओलीविरुद्ध आक्रोशित हुँदै आफ्नो भनाई राखेका नेता खनालले ओली दक्षिणपन्थी भड्काउमा लागेको समेत आरोप लगाएका छन् । हाल ओलीको गुटलाई नेकपाको चोइटाका रुपमा मात्र बुझ्न उनको आग्रह रहेको थियो ।

कार्यक्रममा उनले ओलीले विकास निर्माणका लागि भन्दा मनपरी ढंगले बजेट बिनियोजन गरेको तथा योजना आयोगमा समेत आफ्नै गुटको व्यक्ति राखेको बताएका छन् ।

कमेन्टहरु
Loading...