लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको नेता नेपाललाई प्रश्नः प्रचण्डसंग सहकार्य गरेको भए एमालेलाई घात भएन र ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपाललाई प्रचण्डसंगको सहकार्यका विषयमा प्रश्न गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग धेरै लामो तथा निरन्तर सहकार्यमा रहेको थिएँ भन्ने नेता नेपालको अभिव्यक्तिलाई लिएर मुख्यमन्त्री पोखरेलले तत्कालीन एमालेलाई घात गरेको भएन र भन्दै प्रश्न गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले प्रचण्डसंगको सहकार्य निरन्तर रहेको भए तत्कालीन एमालेलाई घात भएको बताएका छन् । ‘कमरेड माधव नेपालको प्रचण्डसंग सुरुदेखि सहकार्य रहेको दावी बारे माधव कमरेड तपाईंले जारी गरेको निर्देशन अनुसार तात्कालीन माओवादी उग्रवामपन्थको राजनीतिक विरोध र प्रतिवाद गर्दा कमरेड यदु गौतम लगायत तात्कालीन एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन बलिदान गर्नु भएको थियो ।’ मुख्यमन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्, ‘तर आज तपाईं कमरेड प्रचण्डसंग सुरुदेखिनै सहकार्यमा रहेको दावी गर्दै हुनुहुन्छ । शान्ति प्रक्रियामा ल्याउन वार्ता गर्नु र सहकार्य गर्नु फरक होला नि कमरेड । त्यतिबेला साच्चै माओवादी नेता प्रचण्डसंगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड ?’

हाल प्रचण्ड तथा नेपालबीच भएको साँठगाँठलाई पुष्टि गर्नका लागि आफ्नै मान्यता विपरीत नबोल्न समेत पोखरेलले नेपाललाई आग्रह गरेका छन् । ‘विधि र पद्धतिमा जोड दिने तपाईंले अहिले प्रचण्डसंगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरित नबोलेको भए हुन्थ्यो ।’ उनले प्रश्न गर्दै लेखेका छन्, ‘शान्ति प्रक्रियामा प्रवेश पछि त हामी सबै सहकार्यमा होइन, एकतामा नै बाधिएका हौं । त्यो भन्दा पहिले लामो समयसम्म तपाईंकै नेतृत्वमा माओवादी उग्रवामपन्थ विरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ? यति छिटै इतिहासको कटु सत्यलाई कसरी बिर्सन मिल्छ र ?’

कमेन्टहरु
Loading...