सुमन थापामगर
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट प्राप्त भएको उपलब्धिलाई कसैले पनि मेटाउन नसक्ने तथा मेटाउन नदिइने उद्घोष गरेका छन् । काठमाडौंमा आज आयोजित आफू पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई केही व्यक्तिले जोकरले जस्तै हँसायो भनिरहेको र हँसाएकोमा आफूलाई कुनै पछुतो नभएको उनको भनाई थियो । आफूले जनतालाई हँसाएकोमा प्रचण्डलाई डाह लागेको उनको आरोप थियो । ‘उहाँहरूले देश बर्बाद पार्न खोज्दा मैले दिइनँ । उहाँहरूलाई त्यही चिन्ता भएको हो । म देशको मुहारमा मुस्कान ल्याउन चाहन्छु ।’ उनले भने, ‘म हसाउँदै हिँड्छु । तर, मान्छे मार्दै हिँड्न सक्दिनँ ।’
मुलुकमा विकास निर्माणका काममा केही अवरोध भएपनि माइनसमा भने पुगिनसकेको प्रधानमन्त्री ओलीको दावी थियो । ‘अहिले पनि थुप्रै विकासका कामहरु अगाडि बढिरहेका छन् ।’ उनले भने । कोरोना भाइरसको भ्याक्सिन अब नेपालमा पनि आउने र यसको न्युनीकरण हुने प्रधानमन्त्री ओलीले दावी गरे । मुलुकमा विभिन्न कार्यहरु भए पनि त्यो नदेखेको उनको आरोप रहेको थियो । निर्वाचन सम्झिएपछि सबै डराएको उनले बताए । ‘निर्वाचन सम्झियो कि सबै थररर हुने । सबै डराउने ।’ उनले भने । आफूले गरेका गल्तीहरु निर्वाचनमा सबै देखिने भएकाले निर्वाचनबाट केही नेताहरु भागिरहेको उनले आरोप लगाएका छन् ।
केन्द्रीय कमिटीको बैठकमा बोलाइएको भए पनि नआएको प्रधानमन्त्री ओलीले बताए । ‘केही नेताहरु पार्टीको केन्द्रीय कमिटीको बैठकमा आएनन् । कहाँ गए भनेको त हामी आधिकारिक हौं, सूर्य चिन्ह हामीले पाउनुपर्छ भन्दै निर्वाचन आयोगमा पो गएका रहेछन् ।’ उनले प्रश्न गर्दै भने, ‘यदि आधिकारिक हो भने बैठकमा किन आएनन् ? निर्वाचन आयोगमा किन भए आधिकारिकता माग गर्न ?’ सूर्य चिन्हबाट एकपटक पनि चुनाव नलडेको मान्छेले हाल आएर सूर्य चिन्हको माग गरिरहेको उनको आरोप थियो । ‘सूर्य चिन्ह चाहिने भए बैठकमा आउनुस् ।’ प्रधानमन्त्री ओलीले कार्यक्रममा भने ।
अर्को पक्ष झुठको साहरामा अगाडि बढिरहेको समेत उनले बताएका छन् । न्यायधीशलाई भेटेको भन्ने समाचारको प्रधानमन्त्री ओलीले खण्डन गरे । सञ्चारमाध्यममा आएको प्रधानमन्त्री ओलीले प्रधानन्याधीश तथा न्यायधीष भेटेको भन्ने समाचारलाई प्रमाणित गर्न उनले चेतावनी दिएका छन् । ‘समाचारमा नाम आएका न्यायधीशहरुलाई मैले भेट्नु त के चिनेको पनि छैन, देखेको पनि छैन ।’ उनले भने, ‘अह, सपना मल्ल प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा भेटेको हो, कार्यक्रममा भेट्नु ठूलो कुरा होइन, त्यसपछि भेटेको छैन ।’
प्रचण्ड–नेपाल समुहले निर्वाचन आयोगलाई आफ्नो काम गर्न अवरोध पु¥याउने काममा उद्द भएको उनले आनरोप लगाएका छन् । आयोगमा गएर निर्वाचनको प्रक्रियामा रोक लगाउनुस् भन्नु कानुन विपरीत तथा असंवैधानिक भएको उनको भनाई थियो । ‘निर्वाचन आयोग सधैं निर्वाचनको तयारीमा हुन्छ । कहिले उपनिर्वाचन गर्नुपर्ला कहिले निर्वाचन नै गर्नुपर्ला ।’ उनले भने, ‘केही लोकतन्त्रवादी भन्नेहरुले नै निर्वाचन रोक्नुप¥यो भन्नुहुन्छ । लाज लाग्दैन । नेपाली जनतामा के सही र के गलत भन्ने उहाँहरुलाई सबै थाहा छ ।’
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालले आफूलाई हटाएको भन्ने सुनेको बताए । पार्टीको प्रथम अध्यक्षलाई हटाइयो भन्ने हाँस्यास्पद भएको उनको भनाई थियो । ‘माधवकुमार नेपाल अध्यक्ष हुनुभएछ । कल्ले छानेको अध्यक्ष ? हुन त उहाँ नछानिकन हुने बानी प¥या मान्छे हो । उहाँ पार्टीको महासचिव हुनुभो, महाधिवेशनबाट होइन, जननेता मदन भण्डारीको निधन भएपछि त्यो मौकामा उहाँ महासचिव हुनुभयो । अरु साथी हुन तयार भएनन्, उहाँ तयार हुनुभयो । महाधिवेशनबाट छानिएको होइन ।’ उनले भने, ‘२ ठाउँबाट चुनाव हार्नुभो, उहाँ प्रधानमन्त्री हुनुभो, यसपटक मसंग चुनाव हार्नुभो, हाकाहाकी अध्यक्ष चाहियो ले भन्नुभो । बरु चुनाव अगाडि नै मलाई भनेको भए म छोडिदिन्थें होला, ३÷४ पटक छोडिदिएकै हो, कै नै पो हन्थ्यो होला र ?’