‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुसी

बाग्लुङ । संरक्षण अभावमा जीर्ण बनेको गलकोट नगरपालिका–५ बसाहफाँट र वडा नं ६ मजुवाफाँट जोड्ने झोलुंगे (राजाको) पुल पुनःनिर्माण गरिएको छ । चौबीसे राज्यअन्तर्गत तत्कालीन गलकोटे राजा भरतबम मल्लका पालामा बनेको उक्त झोलुंगे पुल अहिले पनि ‘राजाको पुल’ ले चिनिन्छ । वडा नं ५ का वडाध्यक्ष नारायणध्वज मल्लका अनुसार सो झोलुंगे पुल विसं १९९० को दशकमा निर्माण गरिएको थियो । पुल पुनःनिर्माणका लागि गलकोट नगरपालिकाले गत आवमा ९ लाख बजेट विनियोजन गरेको थियो । अपुग रकम स्थानीयवासीबाट जुटाएर कूल १४ लाखको लागतमा पुलको पुनःनिर्माण गरिएको वडाध्यक्ष मल्लले बताएका छन् । ‘बन्दाबन्दीले गर्दा सामानको ढुवानी सहज थिएन, केही सामग्री पुरानै पुलका प्रयोग ग¥र्यौं, केही यही बनायौं, जसले गर्दा पुलको लागत पनि घट्यो ।’ उनले भने ।

झोलुंगे पुल बनाउने बागलुङको रैथाने प्रविधि पनि संरक्षण होस् भनेर पुलको माथिको लठ्ठा पुरानै प्रयोग गरिएको छ । आधुनिक प्रविधि आउनुपूर्व स्थानीय कालिगढले आरानमा फलाम गालेर पुलका लागि साङ्ले लठ्ठा बनाउँथे । परम्परागत सीप र प्रविधिबाट बनेका पुल अहिले पनि गाउँबस्तीतिर देख्न पाइन्छ । ‘राजाको पुल’ पुनःनिर्माणपछि आउजाउ सहज बनेको छ ।

विद्यार्थीसहित सर्वसाधारण गरी दैनिक सयौं जना पुल वारपार गर्छन् । अस्तित्व संकटबाट गुज्रेको पुलले पुनःनिर्माणपछि मुहार फेरेको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताएका छन् । ‘पुल एकदमै जीर्ण थियो, हामी आएपछि वर्षेनी मर्मतसुधार गर्दै आएका थियौं ।’ उनले भने, ‘अहिले नगरपालिकाकै मुख्य लगानीमा पुल पुनःनिर्माण गरिएको छ ।’ उनले इतिहाससँग जोडिएकाले पनि उक्त पुलको संरक्षण गर्नु नगरपालिकाको दायित्व हुने उल्लेख गरे । नगरप्रमुख गैरेले आफू सानो छँदैबाट उक्त पुललाई ‘राजाको पुल’ भनेर चिन्ने गरेको सुनाए । स्थानीय सीप, स्रोत र साधानको परिचालनका कारण पुलको पुनःनिर्माण समयमै सकिएको उनको भनाई छ ।

दरमखोलामाथि रहेको उक्त झोलुंगे पुललाई विसं २००६ मा आएको बाढीले क्षति पु¥याएपछि त्यसबेला पनि पुनःनिर्माण गरिएको थियो । पछि विसं २०३५ मा पनि बाढीले आंशिक क्षति पु¥याएपछि बुटवलबाट लठ्ठा ल्याएर पुल बनाइएको वडाध्यक्ष मल्लले बताए । ‘विसं २०३५ पछि अहिले आएर पुनःनिर्माण गरियो ।’ उनले भने ।

जिल्लामा यो वर्ष ३१ झोलुंगे पुल निर्माणको चरणमा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्छन् । तीनै तहका सरकारको लगानी र समन्वयमा झोलुंगे पुल निर्माणको काम हुन्छ । झोलुंगे पुल निर्माणमा व्यवस्थापकीय र सामाजिक परिचालनका काममा सघाउँदै आएको भिमापोखरा युवा क्लब (बिवाइसी) बागलुङले गत वर्ष गरेको सर्वेक्षणअनुसार जिल्लामा ४ सय १४ झोलुंगे पुल छन् । तीमध्ये जीर्ण भएका पुल हटाएर १ सय ९२ नयाँ बनाउनुपर्ने र ३० बृहत् मर्मत गर्नुपर्ने अवस्थामा छन् । यस्तै ९ वटा पुराना पुल संरक्षण गर्नुपर्ने अवस्थामा छन् । सुरक्षित झोलुंगे पुल १ सय ५८ भन्दा बढी छन् भने २५ पुल प्रयोगविहीन छन् । बागलुङलाई ‘झोलुंगे पुलको जिल्ला’ भनेरसमेत चिनिन्छ । रासस

कमेन्टहरु
Loading...