काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जारी गरेको नक्सामा भारतले आपत्ति जनाएको छ । डब्लुएचओको वेबसाइटमा राखिएको विश्वमानचित्रमा भारतले आपत्ति जनाएको हो । भारत सरकारले आफनो भूमि अलग्गिएको जनाउँदै डब्लूएचओ प्रमुख ट्रेडोस एडहानमलाई ३ पटकसम्म पत्र समेत पठाइसकेको छ ।
हिन्दूस्तान टाइम्सका अनुसार भारतले आफ्नो गलत नक्सालाई तत्काल सुधार गर्नका लागि पत्राचार गरेको हो । गत साता भारतको स्थायी प्रतिनिधी इन्द्रमणी पाण्डेयले संयुक्त राष्ट्र संगठनमा डब्लूएचओका प्रमुखलाई यसबारेमा जानकारी गराएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
डब्लुएचओको म्यापमा जम्मू, कश्मीर तथा लद्दाखलाई भारतको भुभागबाट अलग राखिएको छ । यसबाहेक पाकिस्तान, चीन र भारतबीच विवाद भएको ५ हजार १ सय ६८ वर्ग किलोमिटरमा फैलिएको सक्सगाम घाटीलाई भारतबाट अलग देखाएकोमा उसले आपत्ति जनाएको हो ।
त्यस्तै संगठनले जारी गरेको नक्सामा नेपालको नक्सा समेत गलत छ । यद्यपी यसमा नेपाल सरकारले भने हालसम्म आधिकारिक रुपमा केही आपत्ति जनाएको छ । नेपाल सरकारले जेठ ७ गते कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित भूभाग समेटी नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो। २०७६ कात्तिक १८ मा भारतले नेपालको भूभाग समेटेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको व्यापक विरोध भएको थियो ।
जेठ २ गते राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै अतिक्रमित कालापानी, लिपुलेक तथा लिम्पियाधुरासमेत समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।