तपोभूमी नेपाल योगको उद्गमस्थल: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को समयमा योगको महत्व थप बढेको बताएका छन् । राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योगलाई जीवनको दैनिक पद्धतिका रुपमा अपनाउन सकिएमा महामारीको संक्रमणको सामना गर्न सहज हुने उल्लेख समेत गरेका छन् ।

उनले योग,ध्यान र आहार विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अपनाउन सकिएमा मानिसको स्वास्थ्यमा महत्व र सान्दर्भिकता राख्ने बताएका हुन् । साथै उनले नियमित अभ्यासमा लाग्न समेत आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीको सन्देशमा हिमवत्खण्ड प्राचीनकालदेखि ऋषिमुनिहरुको तपोभूमिका रुपमा रहेकाले नेपाल योगको उद्गमस्थल रहेको बताउँदै योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वस्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लैजान आग्रह गरेका हुन् ।

मुलुकको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई पूरा गर्ने क्रममा सरकारले लिएको निरोग नेपाल अभियानलाई सार्थक तुल्याउनका लागि पनि योगलाई प्रश्रय दिन उनले आह्वान गरे ।

नेपालमा वि।सं। २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएका यस वर्ष कोरोना महामारीका कारण भर्चुअल र टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत मनाइँदैछ ।

दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

कमेन्टहरु
Loading...