दिपक के श्रेष्ठ
पोखरामा नेकपा, दाहाल-नेपाल (दाने) समर्थित बृहद कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिको बैठकबाट केपी ओलीलाई हटाउने निर्णय भएको रहस्य खोलेका छन् ।
देशमा कोभिडको महामारीमा पनि ओली गुट भ्रष्टाचारमै लिप्त भइरहेकाले केन्द्रीय समितिको बैठक बसी उनलाई हटाउने योजना रहेको प्रचण्डले बताएका हुन् । तर बैठकमा अनुपस्थित भइ उनले एक्कासी संसद विघटन गरेपछि अहिलेकाे अवस्था उत्पन्न भएकाे उनले टिप्पणी गरे । पार्टी एकीकरण भएदेखि नै ओलीसँग अग्रगमन र प्रतिगमनको विषयमा लडाइ चलिरहेको उनले सुनाए ।
‘यो अग्रगमन र प्रतिगमनबीचको लडाई हो । यो लडाइ भर्खरै सुरु भएको होइन’ प्रचण्डले भने’, उनले भने ‘पार्टी एकतापछि निरन्तर थियो । आज विष्फोट भएको हो ।’
पुस ५ मा ओलीले संसद विघटन गरेपछि अब लोकतन्त्र नै खतरामा रहेको उनले टिप्पणी गरे । ‘बलिदानीपूर्ण आन्दोलनको उपलब्धी अहिले खतरामा छ’ भन्दै उनले यो पदको लडाइ नभई विचारको, विधि र पद्धतिको लडाई भएको उल्लेख गरे ।
केपीले जे भन्यो अदालतले त्यही निर्णय हुन्छ भन्ने हल्लामा विश्वास नगरौं भन्दै उनले अदालतले संविधानको व्याख्या संविधानभित्रै रहेर गर्ने बताए । उनले अदालतकाे विश्वास गर्न अाग्रह गर्दै भनेः ‘संसद पुनस्थापना भएरै छाड्छ ।’
त्यस्तै, ओलीपक्षले जतिसुकै चिच्याए पनि, प्रोपगण्डा गरेपनि पार्टीको नाम र सूर्य चिन्ह आफ्नै हुने भन्दै कार्यकर्तालाई विश्वस्त रहन आग्रह गरे ।
पदको लुछाचुँडीमा लागकेो व्याख्या भएको छ । तर यो पदको लडाइ होइन, यो विचारको लडाइई हो । राजनीतिक मुद्दाको लडाई । विधि, पद्दतिको लडाइ । सही र गलत प्रवृतिबीचको लडाइ हो । उनले ओलीलाई कटाक्ष गर्दै भने, ‘राजनीतिमा थोरै इमान, जमान त हुनुप¥यो नी ।’
यस्तै, उनले ओलीले जबज परित्याग गरेर मदन भण्डारीको विचारलाई लत्याउँदै समाजवादको दस्तावेजमा हस्ताक्षर गरेको समेत उल्लेख गरे । ‘मदन भण्डारी र माओवादी जनयुद्ध दुबैको सम्मान हुनुप¥यो’ उनको भनाई छ ।
संविधानमा ओलीले आक्रमण गरेको र पार्टी फुटाउने ध्याउन्नमा मात्रै लागेको उनले आरोप लगाए । म र माधवजी पनि प्रधानमन्त्री भएका हौं भन्दै प्रचण्डले भने ‘म र माधवजीले पद छाड्दा पार्टी विभाजन गरेनौं ।’ उनले अब पार्टीकाे जीत र अाेली गुटकाे पतन सुरू भएकाे उद्घाेषसमेत गरे ।
कार्यक्रममा अर्का अध्यक्ष माधव नेपाल, नेता नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेललगायतको सहभागिता रहेको छ ।