काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले निर्वाचन सम्बन्धी कार्यक्रम रोक्न गरेको आग्रह अस्वीकार गरेको छ । आज सोमबार नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न आग्रह गर्दै निर्वाचन आयोगको कार्यालय कान्तिपथमा पुगेका थिए ।
तर आयोगले भने सरकारले निर्वाचनको मिति तय गरिसकेपछि आफूहरुले काम अगाडि बढाउनुपर्ने भन्दै तटस्थतामा शंका नगर्न आग्रह गरेको हो । आयोगले प्रचण्ड–नेपाल पक्षसंग सर्वोच्च अदालतले निर्वाचन रोक्न भनेको अवस्थामा बाहेक निर्वाचनका कार्यक्रम नरोकिने समेत स्पष्ट पारेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने घोषणा गरेका थिए । यही विषयमा निर्वाचनका कार्यक्रम रोक्न भन्दै नेकपा प्रचण्ड–नेपालका अध्यक्षद्वय निर्वाचन आयोगमा पुगेका हुन् ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक तथा प्रतिगामी कदम भएको भन्दै सर्वोच्च अदालतमा मुद्धाहरु परेका छन्, जसको सुनुवाई जारी छ ।