काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका नेता तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कम्युनिस्ट पार्टीको महान् अभियानमा केहीले तगारो लगाउने कोसिस गरेको तर आफूहरु नभाग्ने तथा नहार्ने बताएका छन् ।
काठमाडौंमा आयोजित ओली समुहको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्ड–नेपाल समुहले मुलघरबाट निस्किएर हामी मुलधारको कम्युनिस्ट भनेकोमा उनले आपत्ति प्रकट गरे । ‘कार्की ब्यक्वेटमा बैठक बसेर हामी मुलधारका कम्युनिस्ट हौं भनेछन् । उनीहरु नै मुलधारबाट निस्किएका हुन् ।’ उनले भने ।
पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा विभाजनको मुखमा पु¥याएकोमा पछुतो लाग्ने उनले बताए । नेताहरुको कुरा सुनेर प्रधानमन्त्री केपी ओलीको साथ छोड्दै कांग्रेस सभापति शेरबहादुर देउवासंग मिल्न गएको उनको आरोप थियो । चौतर्फी घेराबन्दी गर्दा पनि निर्वाचनका लागि तत्कालीन नेकपा एमाले जनतामाझ गएको उनले बताए । चिनियाँ पाहुनालाई आफूले नभेटेको तर मिडियामा आएकोमा उनले गुनासो गरे । ‘चिनियाँलाई मैले भेटेको होइन, प्रचण्डलाई भेटेका हुन् ।’ उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने ।
निर्वाचनका क्रममा कांग्रेस मिलेर जाँदा जित्नका लागि मतपत्र च्यात्नुपरेको उनले बताएका छन् । ‘निर्वाचनमा मतपत्र च्यात्ने अवस्थासम्म तत्कालीन माओवादी पुग्यो ।’ उनले भने, ‘तत्कालीन एमालेसंग मिलेको भए, मतपत्र च्यात्नुपर्ने अवस्था आउने थिएन, यो कुरा प्रचण्डको कानमा होइन, पुपष्कमल दाहालको कानमा परोस् ।’ पहिले तत्कालीन एमालेको सूर्य चिन्ह मन नपरेको भए पनि अहिले दावी गरेको मन्त्री श्रेष्ठले आरोप लगाएका छन् ।
प्रतिनिसभा विघटन गर्नु प्रधानमन्त्री ओलीको रहर नभएको पनि उनले स्पष्ट पारेका छन् । महाअभियोगमार्फत् राष्ट्रपति माथि हमला गर्ने सोचका साथ प्रहार गर्ने प्रयास भएपछि बाध्यताले विघटन गर्नुपरेको उनको भनाई थियो । ‘हामीमाझ अन्य विकल्प केही भएन । त्यसैले प्रतिनिधिसभा विघटन गरेर जनतामाझ जाने निर्णय ग¥यौं ।’ प्रचण्ड–नेपाल समुह तथा अन्य दलहरुले समेत निर्वाचन हुँदैन भन्दै आन्दोलन गरिरहेको भए पनि उनीहरु निर्वाचनको तयारीमा लागिसकेको उनले दावी गरे ।
कार्यक्रममा उनले प्रचण्ड–नेपाल पक्षका नेता झलनाथ खनालप्रति पनि कटाक्ष गरे । केही दिन अगाडि खनालले धरहरा तथा रानीपोखरी डकर्मी तथा सिकर्मीले बनाएको बताएका थिए । सोही विषयलाई लिएर उनले खनालप्रति कटाक्ष गरेका हुन् । आफूहरु नै नेकपाको संस्थापक भएको समेत उनले दावी गरेका छन् । ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै संस्थापक तथा मुलधारको कम्युनिस्ट पार्टी हो ।’ उनले भने । आफूहरु फुट र विभाजनको पक्षमा नभएको समेत उनले कार्यक्रममा स्पष्ट पारेका छन् ।