सांसद बस्नेतलाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा पूर्वप्रहरी पक्राउ

काठमाडौं । भक्तपुरका सांसद महेश बस्नेतलाई अभद्र व्यवहार गरेको अभियोगमा एकजना पूर्वप्रहरी पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गाली, गलौज र अभद्र टिप्पणी गरेको अभियोगमा डिल्लीबहादुर चन्दलाई नेपालगन्ञबाट मंगलबारबाट साइबर ब्युरोले पक्राउ गरेको हो । चन्दले प्रहरीबाट स्वेच्छिक सहायक निरीक्षक (असई) बाट अवकाश लिएका थिए ।

उनीविरुद्ध विद्युतीय अपराध ऐन अनुसार कारबाहीका लागि कानुन व्यवसायीमार्फत जाहेरी परेपछि पक्राउ गरिएको ब्युरोका एसएसपी नविन्द अर्यालले बताए । अधिकृतहरुका अनुसार चन्दले बस्नेतलाई सांसद अपहरण प्रकरणमा जोडेर अभद्र टिप्पणी गरेको जाहेरीमा भनिएको छ । थप अनुसन्धान भइरहेको भनिएको छ ।

सांसद बस्नेत, किशान श्रेष्ठ, पूर्वआईजीपी सर्वेन्द्र खनाल लगायतको समूहले समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका थिए ।

कमेन्टहरु
Loading...