पोउवामा चुनावी रन्कोः साइत हेराएर विन्दुको उम्मेदवारी घोषणा

गन्थन डेस्क

आगामी २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनमा विन्दु कोइराला सुवेदीले स्वतन्त्र प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

उम्मेदवारी घोषणा समय साँझको ४ बजे राखिएपछि पत्रकारहरु समयमै कार्यक्रमस्थल पुगेका थिए । यद्यपि, कार्यक्रम आधा घण्टा ढिलो गरी सुरु भयो । उक्त अवधिमा सुवेदीलगायत केही उम्मेदवार त्यहाँ रहेपनि समूहका अन्य सदस्य साढे ४ बजेको पर्खाइमा थिए ।

यसबारे अध्यक्ष उम्मेदवार सुवेदीले भनिन्, ‘शुभ साइत हेराएर साढे ४ बजे उम्मेदवार घोषण गर्ने हाम्रो कार्यक्रम हो, तपाइ(पत्रकार)हरु पनि साढे ४ बजे आउनुहुन्छ होला भन्ने लागेको थियो । शुभकाम गर्न शुभसाइत नै रोजेको उनको प्रतिक्रिया छ ।

प्यानलले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको छैन । यस पदमा नारायण कोइराला प्यानलका पवनकुमार प्रजापतिलाई नै समर्थन गरिएको छ । त्यस्तै, उद्योगतर्फका उपाध्यक्षमा यसअघि नै २ जनाको उम्मेदवारी परेकाले यसमा पनि उम्मेदवारी दिएको छैन ।

वाणिज्यतर्फका उपाध्यक्षमा सोभित पौडेल, महासचिवमा धनीराम बराल, कोषाध्यक्ष तारानाथ ढुंगाना र उपमहासचिव धर्मराज बाँस्तोलाले उम्मेदवारी घोषणा गरेका छन् ।
यसैगरी, सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तमसेवक कार्कीले उम्मेदवारी घोषणा गरे ।

उम्मेदवारी घोषणापछि अध्यक्ष प्रत्यासी पौडेलले १४ वर्षसम्म उद्योग वाणिज्य संघमा काम गरी उपाध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव भएपनि अन्ततः पाखा लगाउने प्रयास गरेपछि प्यानल खडा गरी चुनावी मैदानमा आएको बताइन् ।

उनको चुनावी नारा नै ‘उद्योगी व्यवसायीको रखवारी, नारी नेतृत्वको उम्मेदवारी’ रहेको छ । यसअघि नै नारायण कोइरालाले प्यानल खडा गरी उम्मेदवारी दिइसकेका छन् ।

उम्मेदवारी घोषणासँगै प्यानलले १२ बुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेको छ ।

कमेन्टहरु
Loading...