रेमिट्यान्स भ्रमः देशकै कालो धन सेतो भएर भित्रिँदै

दिपक के श्रेष्ठ

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मीले नेपालमा भित्रिने गरेको रेमिट्यान्स मजदुरको नभई मालिकको पैसा भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका मुल्मीले देश रेमिट्यान्समा चलिरहेको सत्यलाई उजागर गर्दै त्यस्तो पैसा नेपालबाटै बाहिरिएर पुनः यतै फर्केको उल्लेख गरे । ‘नेपालमा रहेको कालो धन विदेश पु¥याएर रेमिट्यान्सकोरुपमा यतै आएको छ’ उनले भने ‘यो रेमिट्यान्स हैन कालो धन चोख्याएर भित्रयाइएको हो ।’

ट्रान्सपरेन्सी इन्टरनेशनल र सुशासनका लागि नागरिक समाज (सुनास)ले आज बैंक तथा निजी क्षेत्रसँग सामाजिक उत्तरदायित्व बहससम्बन्धी अन्तरक्रियामा बोल्दै मुल्मीले पोखराका बैंक तथा व्यवसायीलाई लगानीबारे प्रष्ट्याए ।

वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा लगानीसम्बन्धी धारणा राख्दै उनले यस क्षेत्रमा रहेको बैंक तथा वित्तीय संस्थाका सञ्चालक एवं कर्मचारीले अब छुट्टै नीति, नियम निर्माण गर्नमा जोड दिए ।

त्यस्तै, विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धकहरुले गण्डकी क्षेत्रमा व्यावसायिक हुन मूख्य कार्यालयको नीति भन्दा पृथक योजना निर्माण गर्न जोड दिए ।

हाल मुलुकमा बैंकसँग सम्बन्धित ठगीका मुद्दा १७ सयको हाराहारीमा रहेको उनले जानकारी दिए । जसमध्ये १ सय ५० को मात्रै राष्ट्र बैंकले फैसला गरेको छ ।

बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै जाँदा भोलीका दिनमा निक्षेपकर्ताको विश्वास घट्नेतर्फ सचेत गराउँदै मुल्मीले आजकै दिनदेखि जवाफदेहिता र सुरक्षित व्यवसाय सञ्चालनमा जोड दिन उनले आग्रह गरे ।

कार्यक्रम संयोजक विश्वमोहन अधिकारीको सभापतित्व्मा भएको कार्यक्रममा पोखराका बैंक तथा वित्तीय संस्थामा कार्यरत करिब ३ दर्जन बैंकर एवं सञ्चालकको सहभागिता थियो ।

कमेन्टहरु
Loading...