बालअधिकार हननको घटनामा वृद्धि

सप्तरी । सप्तरीमा बालअधिकार हननको घटनामा वृद्धि हुँदै गएपछि सरोकारवाला चिन्तित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले सोमबार सार्वजनिक गरेको सन् २०२० को प्रतिवेदनमा अभिलेख गरिएको १३० घटनामा बालअधिकार हननको मात्रै ५० वटा घटना सार्वजनिक भएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् ।

जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठले सबैले आ–आफ्नो भूमिका प्रभावकारी बनाउन आवश्यक रहेको बताए । राजविराज नगरपालिकाका उपप्रमुख साधना झाले नागरिकमा चेतना बढे मात्र बालअधिकार हनन्को घटनामा कमी आउने उल्लेख गर्दै मानवअधिकार र विकासले स्थायित्व लिन कर्मचारीको भूमिका महत्वपूर्ण रहने बताए ।

जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केले बालबालिका हनन्का घटना न्यूनीकरणका लागि महिला सञ्जाल र आमा समूहलाई सशक्त बनाउनुपर्ने उल्लेख गर्दै उनीहरु सुरक्षित र स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारबाट वञ्चित हुनु परेकोमा स्थानीय तहको ध्यानाकर्षण गराए ।

नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले जनप्रतिनिधि, प्रहरी र अगुवा नै गैरजिम्मेवार भएकाले बालअधिकार हननको घटना बढेको बताए । सन् २०२० को अवधिमा बालक हत्याको तीन उजूरी परेकोमा एक घटनामा एक जना पूर्पक्षका लागि थुनामा र दुई बालक जमानीमा रिहा भएका छन् । अन्य दुई घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले एक वर्षको अवधिमा बढी चर्चामा रहेका घटनामा सामूहिक बलात्कारको घटना उजूरी गर्न डाक्नेश्वरी नगरपालिका– ७ ललितपुरका पञ्चहरूले रोक लगाएपछि सोही ठाउँकी १७ वर्षीया बालिकाले भदौ ३० गते गरेको आत्महत्या घटना रह्यो । सो घटनामा पक्राउ परेका दुई बालक असोज २७ गते पूर्पक्षका लागि बालसुधार गृह वीरगञ्जमा छन् । आत्महत्या दुरुत्साहन समेतको सो घटनामा पञ्च जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई जनही रु एक लाख १० हजार धरौटी राखेर असोज २७ गते र मुख्य पञ्च शत्रुधन मण्डलले पुस ८ गते दुई लाख धरौटी राखी पूर्पक्षका लागि रिहा भएका छन् ।

सो अवधिमा बालिका बलात्कारको २६ घटनामा चारदेखि १७ वर्षीया २६ जना बालिका पीडित भएका छन् । पीडितमध्ये तीन अपाङ्गता भएकी बालिका रहेका छन् । आरोपित सात वर्षदेखि ४५ वर्षका ३४ जना छन् । आरोपितमध्ये १६ जना पूर्पक्षका लागि थुनामा र एक बालक बालसुधार गृहमा छन् भने ७ र ८ वर्षीय दुई बालकमाथि मुद्दा चल्न नसकेर अभिभावकको जिम्मा लगाइएको छ ।

एक जना धरौटीमा रिहा भएका छन् । आरोपितमध्ये एक जना अपरिचित र एक जना बालिकाका बुबासमेत १४ जना पक्राउ परेका छन् । बाल यौन दुव्र्यवहारका ११ घटनामा सातदेखि १७ वर्षीया १२ बालिका पीडित भएका छन् । आरोपितमा १८ देखि ७६ वर्षीय २१ जना रहेका छन् । तीमध्ये दुई जना पूर्पक्षका लागि थुनामा छन् भने सात जना धरौटीमा रिहा भएका छन् । दुई जना हालै पक्राउ परेका छन् भने १० जना फरार छन् ।

यो अवधिमा पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेका आरोपमा २० वर्षीय बालक पक्राउ परेका छन् । बालविवाहका पाँच घटना जनप्रतिनिधि, प्रहरी, इन्सेक, बाल सञ्जाल र गाउँलेको पहलमा रोकिएको छ भने एउटा बाल तथा बहुविवाहको आरोपित दुई जना फरार छन् ।

बालिका बेचविखनका दुई घटनामा १५, १४ र १३ वर्षीया बालिका पीडित भएका छन् । आरोपितमध्ये ४२ वर्षीया पूर्पक्षका लागि थुनामा र १६ वर्षीय बालसुधार गृहमा छन् । अन्य ४५, १९ र १८ वर्षीय पुरुष हालसम्म पक्राउ परेका छैनन् । पाँच बालकलाई कूटपिट गरेको एक घटनाका आरोपित विद्यालयका निर्देशकमाथि कुनै कारवाही भएको छैन । इन्सेकको तथ्याङ्कमा एक वर्षको अवधिमा १३० मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना सङ्कलन गरिएको छ ।

कमेन्टहरु
Loading...