एक हजारलाई रोजगारी दिने लक्ष्यमा रुपाकोट रिसोर्ट

 

कास्की: गत वर्षको कात्तिक २९ गते बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद कास्कीस्थित रुपाकोट रिसोर्ट पुग्नुभएको थियो । डेढ घण्टा रिसोर्टमा रहनुभएका उहाँले त्यहाँबाट रुपा, बेगनास ताल र हिमशृङ्खला अवलोकन गर्नुभयो । त्यसबेला उहाँले भन्नुभएको थियो, “यहाँ आउन पाउँदा खुशी छु, असाध्यै राम्रो ठाउँ रहेछ ।”

राष्ट्रपति हमिदको भ्रमणपछि उक्त रिसोर्टले थप चर्चा कमायो । सोही रिसोर्टले शनिबार छैठांै वार्षिकोत्सव मनाएको छ । रुपा गाउँपालिकामा अवस्थित रुपाकोट रिसोर्टले पाँच वर्षभित्र एक हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले एक हजार जनालाई रोजगारी सिर्जना गर्ने गरी पूर्वाधार निर्माणलाई जोड दिइएको जानकारी दिनुभयो । यसका लागि विभिन्न ‘प्रोजेक्ट’ निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

सोही ठाउँमा स्वीङ पार्क, होटल व्यवस्थापन कलेज, रुपाकोट टुर्स एण्ड ट्राभल्स कम्पनीलगायतका प्रोजेक्ट सञ्चालनमा आउने सञ्चालक अधिकारीले जानकारी दिनुभयो । “रुपाकोट रिसोर्टले अहिले एक सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ, एक हजार रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो ।

रिसोर्टमा ४२ कोठा रहेकामा २५ कोठा थप हुँदैछ । रेष्टुरेन्ट, स्पा, साउना, मेडिटेसन हल, योगा हल, जिम हल, स्विमिङ पुलसहित पाँच तारे होटलमा चाहिने सम्पूर्ण सेवा पर्यटकलाई प्रदान गरिने उहाँले जानकारी दिनुभयो । थप संरचना निर्माण भइसक्दासम्म रिसोर्टमा रु एक अर्ब १० करोड लगानी हुनेछ ।

सञ्चालक अधिकारीका दुई छोराले हाल रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी निभाइरहनुभएको छ । जेठो छोरा सुशील अधिकारी रिसोर्टको प्रबन्ध निर्देशक हुनुहुन्छ भने कान्छो छोरा मनिष अधिकारी कार्यकारी निर्देशकको भूमिका हुनुहुन्छ ।

–कृष्ण न्यौपाने, रासस

कमेन्टहरु
Loading...