काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पुस १३ गते देशैभरी प्रदर्शन गर्दै छ । यसैबीच पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध एकजुट भएर पुस १३ गतेको प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णय अनुसार देशभरीका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा हुने प्रदर्शनमा सहभागी हुन पार्टी सभापति देउवाले अपील गरेका हुन् । प्रतिनिधिसभा विघटन गर्नु जनभावना तथा संविधान विपरीत रहेको र यसको विरुद्धमा नेपाली कांग्रेस उभिएको उनले प्रस्त पारेका छन् ।
