पार्टी एकताको दिनदेखि नै प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डले षड्यन्त्र सुरु गरेः नेता बस्नेत

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समुहका नेता महेश बस्नेतले नेपालका कम्युनिस्टहरु एकढिक्का भएर लोकतान्त्रिक धारलाई व्यवस्थित गर्न नसकेकोमा जनतासंग माफी माग्नुपर्ने बताएका छन् ।

आज बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिस्टहरुको सहकार्यमा विकास तथा समृद्धिको नारालाई सार्थक बनाउने तथा करिब ७० वर्षपछि नेपालमा स्थिर सरकार दिने कार्यमा असफल भएको भन्दै आम नागरिकसंग माफी माग्नुपर्ने बताएका हुन् ।

‘लोकतान्त्रिक धारलाई व्यवस्थित ढंगले अगाडि बढाउने र सुखी नेपाली समृद्ध नेपालको परिकल्पनाका साथ ७० वर्ष पश्चात् स्थिर सरकार दिने उच्च सम्भावना, अवसरलाई हामीले सदुपयोग गर्न सकेनौं ।’ उनले भने, ‘यसका लागि हामीले अब आउने चुनावका लागि जनताका सामु गल्ती स्वीकार गरेर जानुपर्छ ।’

नेता बस्नेतले तत्कालीन एमाले तथा तत्कालीन माओवादीबीच एकता भएको दिनबाट नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल लगायतका नेताहरुले षड्यन्त्र रच्न सुरु गरेको आरोप लगाएका छन् ।

‘विधानमा नै उल्लेख भएको २ वटा पार्टीको एकता महाधिवेशनसम्म नटुंगिदासम्म सहमतिका आधारमा जाने, २ जना अध्यक्षबीचको एजेण्डा, प्रतिवेदन, तथा निर्णयमा सहमति गर्ने र महाधिवेशनसम्म सबै सहमतिहरु टुंग्याउने भन्ने विषयमा प्रचण्डले धोका दिनुभयो ।’ उनले भने, ‘त्यसपछि उहाँले तत्कालीन एमालेका नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायतलाई च्यापेर पार्टी विभाजन गर्नुभयो ।’

कमेन्टहरु
Loading...