पूर्व माओवादीलाई फकाउँदै मुख्यमन्त्री गुरुङले भने, ‘जनयुद्धका सपना हामी पुरा गर्छौं’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुमत प्राप्त सरकारलाई आफ्नै पार्टी तथा केही नेताहरुले काम गर्न अवरोध पु¥याएपछि बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुपरेको बताएका छन् ।

‘उहाँलाई आफ्नै पार्टीका केही नेताले काम गर्न नदिएर घेराबन्दीमा पारियो । अझ यहाँसम्म की अविश्वासको प्रस्ताव ल्याउने योजना बनाइयो ।’ उनले भने, ‘छलफल नगरेर अविश्वासको प्रस्ताव ल्याउने काम भयो । त्यसपछि प्रधानमन्त्रीले संसद विघटन बाध्य भएर गर्नुभएको हो ।’

संसद विघट गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नु अलोकतान्त्रिक नभएको उनको स्पष्टोक्ति थियो । ‘उहाँले संसद विघटन गरेर राजालाई सत्ता हस्तान्तरण गर्नु भएको होइन, गलत हातमा सत्ता सुम्पिनुभएको होइन, उहाँले मुलुकलाई जोगाउन संसद विघटन गर्नुभएको हो ।’ उनले भने ।

नेकपाको प्रचण्ड–नेपाल समुहले बहुमत छ भन्दैमा आधिकारिक पार्टी को भन्ने विषयमा भ्रम फैल्याएको उनले आरोप लगाएका छन् । ‘उहाँहरुसंग बढी टाउको छ भन्दैमा आधिकारिक पार्टीको विषयमा भ्रम फैल्याउने काम गरिरहनुभएको छ ।’ उनले भने । प्रचण्ड–नेपाल समुहको पार्टी संस्थापन पार्टी हुन नसक्ने उनले बताएका छन् । ‘उहाँहरुले नयाँ पार्टी खोल्नु भएको होइन । फुटेर जानु भएको हो ।’ उनले भने, ‘त्यसैले आधिकारिक पार्टी हामी हौं ।’ कार्यक्रममा उनले सूर्य चिन्ह पनि आफूहरुले नै पाउने मन्त्री गुरुङले दावी गरेका छन् ।

प्रचण्ड–नेपाल समुहले सडक आन्दोलन गर्दैमा कुनै पनि देशको प्रधानमन्त्री हुन नसक्ने समेत उनले बताएका छन् । ‘प्रचण्डजीले बुझ्नुपर्ने हो, सडक आन्दोलन गर्दैमा प्रधानमन्त्री बन्न सकिदैन ।’ उनले भने । प्रधानमन्त्री ओलीले म आफू कुनै पनि पदमा उठ्दिन, चैत्रमा महाधिवेशन गरेर नेतृत्व चयन गरौं भन्दा समेत ३ महिना पनि कुर्न नसकेको आरोप लगाएका छन् ।

प्रचण्ड–नेपाल समुहमा सत्ता, शक्ति र पदको मोह देखिएको उनको भनाई छ । समृद्धिको अभियान पुरा गर्न मिलेर जानुपर्छ भनेर आए प्रचण्ड–नेपाल समुहलाई स्वागत गर्न आफूहरु तयार रहेको उनको भनाई थियो । नागरिकका सपना पुरा गर्न नै प्रचण्ड जनयुद्धमा गएको उनको भनाई थियो । ‘जनयुद्धका सपना पुरा गर्न हामी पनि साथ दिन्छौं ।’ उनले भने ।

कमेन्टहरु
Loading...