नेकपाको ओली समुहले ७ वटै प्रदेशमा आफू पक्षका नेताकार्यकर्तालाई प्रशिक्षण दिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको केपी ओली समुहले आज ७ वटै प्रदेशमा आफ्नो पक्षका नेता तथा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै छ । आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय ओली समुहले गरिसकेको छ । सोही विषयलाई मध्यनजर गर्दै आज ओली समुहले ७ वटै प्रदेशमा नेता तथा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको हो ।

ओली समुहले प्रशिक्षणका लागि हरेक प्रदेशमा विभिन्न नेताहरुलाई जिम्मेवारी समेत दिएको छ । केही नेताहरुले भने फरक–फरक प्रदेशमा प्रशिक्षण दिने भएका छन् ।

ओली नेतृत्वको नेकपाका प्रवक्तामा चुनिएका नेता प्रदीप ज्ञवालीद्वारा सार्वजनिक गरिएको सुचना अनुसार पूर्वमाओवादीबाट ओली समुहमा गएका मणि थापा लुम्बिनी तथा सुदुरपश्चिम प्रदेश तथा नेता टोपबहादुर रायमाझीको नाग गण्डकी तथा बाग्मती दुवै प्रदेशमा रहेको छ ।

प्रवक्ता ज्ञवालीका अनुसार गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ तथा गोमा देवकोटाले प्रधानमन्त्री समेत रहेका ओली पक्षका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने छन् ।

यस्तै ओली समुहले सुदुरपश्चिम प्रदेशका लागि प्रवक्ता ज्ञवाली सहित डा.विन्दा पाण्डे, लेखराज भट्ट तथा कर्णबहादुर थापालाई खटाउने निर्णय गरेको छ । कर्णाली प्रदेशमा शंकर पोखरेल सहित छविलाल विश्वकर्मा, सुजिता शाक्य तथा यामलाल कँडेललाई खटाइएको छ । यता लुम्बिनी प्रदेशमा मणिचन्द्र थापा सहित विष्णुप्रसाद पौडेल, गोमा देवकोटा तथा शंकर पोखरेलले प्रशिक्षण दिने छन् ।

त्यस्तै बाग्मती प्रदेशमा पद्मा अर्याल सहित ईश्वर पोखरेल तथा टोपबहादुर रायमाझी, प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, शिवमाया तुम्बाहाम्फे, मणिचन्द्र थापाले प्रशिक्षण दिने तय भएको छ । प्रदेश २ मा भने जुलीकुमारी महतो सहित ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डलले प्रशिक्षण दिने ओली समुहले तय गरेको छ ।

कमेन्टहरु
Loading...