टिकटक बनाउने मोहमा झोलुंगे पुलमा झुण्डिएका १ युवकले ज्यान नै गुमाए

दाङ । टिकटक बनाउँदा झोलुंगे पुलबाट खसेर घाइते भएका १ जना युवाको ज्यान गएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बिहान ७ बजे ज्यान गएको हो । उनको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा ज्यान गएको बताइएको छ ।

बबई गाउँपालिका वडा नम्बर ५ को हापुरेमा रहेको पुरन्धारा छहरा नजिकै झोलुंगे पुलमा टिकटक बनाउँदै गर्दा उनी सोही पुलबाट खसेर गम्भीर घाइते भएका थिए ।

आफ्ना केही साथीहरुसंग पिकनिकका लागि गाडी लिएर त्यहाँ पुगेका उनी टिकटक बनाउन झोलुंगे पुलमा राखिएको सर्पोट तारमा झुण्डिएका थिए । तारमा नझुण्डिन साथीहरुले आग्रह गरेको भए पनि पिकनिकमा मदिरा सेवन गरेपछि उनी अटेर गर्दै झुण्डिएका थिए ।

टिकटकका लागि भन्दै लामो समय झुण्डिदाँ हात गलेपछि २० मिटर तल बगरका खसेका थापालाई साथीहरुले उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याएका थिए ।

पुलबाट खसेर बगरमा बजारिएका थापालाई टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

गम्भीर चोट लागेकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार सम्भव नभएपछि उनलाई सोही दिन थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो ।

कमेन्टहरु
Loading...