सिराहा । केही दिनयता बढेको अत्यधिक चिसोका कारण १ साताको अवधिमा सिरहामा ४ जनाको ज्यान गएको छ ।
चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका १ को ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गत मंसिर २२ देखि मंसिर २८ गतेसम्मको अवधिमा ती चारै जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंलले जानकारी दिएका छन् । सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य ५ जना घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताएका छन् ।
यसैबीच चिसो प्रभावित सुखीपुर नगरपालिका ८ र गोलबजार नगरपालिका १३ का १ सय ५० परिवारलाई स्वदेश लघुवित्त संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको छ । सुखीपुर नगरपालिका ८ अस्पतालचोकका १ सय ३० र गोलबजार नगरपालिका १३ का २० परिवारलाई चिसोबाट जोगिन न्यानो कपडा वितरण गरेको प्रजिअ कणेंलले जानकारी दिएका छन् । रासस