पैसा लिएर अवैध रुपमा नेपाली नै नेपाल भित्र्याउँछन् भारतीयलाई

कञ्चनपुर । भारतीय नागरिकबाट रकम लिई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगरका १९ वर्षीय शैलेश अवस्थीलाई आइतबार साँझ बोर्डर आउट पोष्ट डोकेबजारको टोलीले नियन्त्रणमा हो । अवस्थीले भारतको मिजनौर धामपुर बस्ने २५ वर्षीय मोहम्मद आशिकबाट १ हजार रकम लिई सीमा क्षेत्रको तारबारबाट छिराउँदै गरेका बेला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिएका छन् । नियन्त्रणमा परेका अवस्थीलाई प्रहरीचौकी पचकडीया र भारतीय नागरिक आशिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीको गौरीफण्टाका एएसआई मुनिमको जिम्मा लगाइएको छ ।

नेपालीकी श्रीमती भगाएर लैजाने भारतीय सीमा नाकामा पक्राउ

बेलौरी नगरपालिका–६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले हिजो पक्राउ गरेको छ । भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमा पक्राउ गरेको हो ।

बेलौरी नगरपालिका–६ नयाँ गाउँस्थित मुख्य सीमास्तम्भ नम्बर ७७६ नजिकबाट भाग्दै गरेका बेला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए । भारतीय नागरिक खानलाई भारतीय एसएसवी जिम्मा लगाइएको छ भने भारतीयसँग भागेर जाने महिलालाई इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।

नेपालबाट भारततर्फ लैजाँदै गरेकी युवतीको उद्धार

नेपालबाट भारततर्फ जाँदै गरेका बाजुरा त्रिवेणी गाउँपालिका–१ १७ वर्षकी किशोरीलाई सशस्त्र प्रहरीले सीमा नाका डोकबजारबाट उद्धार गरेको छ । उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापन केन्द्र कैलालीमा बुझाइएको छ । किशोरीलाई भारततर्फ लैजाने अजुर्न विकलाई पुनःस्थापन केन्द्रमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताएका छन् ।

शुक्लाफाँटा–५ एक साताका लागि सिल

शुक्लाफाँटा नगरपालिकामा कोभिड–१९ का बिरामीको सङ्ख्या प्रतिदिन बढ्न थालेपछि वडा नं ५ एक साताका लागि सिल गरिएको छ । वडामा रहेका सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, पसल, उद्योग अर्को सूचना जारी नहुँदासम्मका लागि मंसिर २९ गतेदेखि पुस ५ गतेसम्मका लागि बन्द गरिएका छन् । वडा क्षेत्रमा आवश्यक कामबाहेक अन्य कार्यका लागि हिँडडुल गर्नमा समेत प्रतिबन्ध लगाइएको छ ।

स्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै वडा क्षेत्रमा बाह्य व्यक्तिलाई प्रवेश दिइने वडाध्यक्ष कमल गिरीले बताएका छन् । कोरोनाको संक्रमण देखिएको वन समिति, खजुवा, गर्जमुनी, वैशाखा र वडाअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्ग क्षेत्रको आवतजावतमा कडाइ पारिएको छ । सोही वडाका १ वृद्धको गत साता कोरोनाको संक्रमणकै कारण निधन भएको थियो । १० कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार नगरपालिकामा १३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न फरार ४ पक्राउ

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका ४ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पक्राउ गरेको छ । मानव ओसारपसार तथा बेचबिखन मुद्दामा वारदातदेखि फरार रहेका भीमद नगरपालिका–८ का पवन जोशीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छन् ।

उनका अनुसार जोशी मंसिर २३ गते वारदात गरेदेखि फरार रहेका थिए । पक्राउ परेकामाथि आवश्यक कारवाहीका लागि कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी कानूनबमोजिम कारवाही प्रक्रिया अगाडि बढाइएको छ । मानव ओसारपसार तथा बेचबिखन मुद्दामा उच्च अदातबाट दोषी ठहर भई १० वर्ष कैद र १ लाख जरिवाना सजाय फैसला भएका कैलालीको साविक बेलादेवीपुर गाविस–३ सेरी बस्ने ३३ वर्षीय बमबहादुर सार्कीलाई घर ठेनागामै लुकीछिपी बसेको बेला पक्राउ गरिएको छ । लागुऔषध खैरो हिरोइन मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–१३ बस्ने २२ वर्षका धीरज भट्ट र सोही ठाउँका २३ वर्षका सुरेश ऐरलाई घरमा लुकीछिपी बसेको बेला पक्राउ गरी आवश्यक अनुसनधान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताएका छन् । रासस

कमेन्टहरु
Loading...