पोखरामा आजदेखि घन्कनेछ दोहोरी साँझ

दिपक के श्रेष्ठ

साउनदेखि पोखरामा रहेका लोक तथा दोहोरी संगीतसम्बद्ध संस्थाहरुले दोहोरी साँझ/रेष्टुरेन्ट खुलाउन गरेको प्रयास अन्ततः सफल भएको छ । आजदेखि पोखरामा रहेका दोहोरी साँझहरु खुल्ने भएका छन् ।

 

यसअघि पर्यटन मन्त्रालय तथा मन्त्रीपरिषद्को निर्णयअनुसार अन्य स्थानमा दिइएको निर्देशनअनुरुप पोखरामा पनि दोहोरी खुल्ने भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला निकायसंग भएको औपचारिक, अनौपचारिक छलफलपछि बिहीबार साँझ स्थानीय प्रशासनले दोहोरी खुल्ला गर्न अनुमति दिएको अध्यक्ष गुरुङले बताए ।

 

दोहोरी खोल्न दिने भएपछि प्रतिष्ठान र कलाकार आबद्ध संस्थाहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । दोहोरी सञ्चालकले स्वास्थ्यसम्बन्धित मापदण्ड अपनाएर व्यवसाय सन्चालन गर्नुपर्ने छ । त्यस्तै, दोहोरीमा ग्राहकलाई सूर्तीजन्य पदार्थ र हुक्का बेच्न पाइने छैन भने रातीको १० बजेभित्र रेष्टुरेन्ट बन्द गर्नुपर्ने छ ।

 

गुरुङका अनुसार प्रतिष्ठानले कास्कीमा रहेका दोहोरी रेष्टुरेन्टमा कार्यरत कर्मचारीको कोरोना बीमा गर्नुपर्ने, कर्मचारीलाई यसबीचको सेवा सुविधा उपलब्ध गराउनु पर्ने, स्वास्थ्यसँग सम्बन्धित जानकारी समेटिएको सूचना पाटी राख्नुपर्ने जस्ता निर्देशिका तयारी पारि व्यवसायीलाई पठाउने तयारी गरेको छ ।

 

गुरुङ भन्छन्, ‘मेयर, प्रहरी प्रशासन र सिडिओ सबैजना सकारात्मक भएपछि दोहोरी खुल्ला हुने भएको छ ।’ ढिलै भएपनि धराशायी हुन लागेको दोहोरी व्यवसायलाई बचाउन केही राहत मिलेको उनको धारणा छ ।

 

त्यस्तै, पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघ, कास्कीका अध्यक्ष जीवन गुरुङले प्रमुख जिल्ला अधिकारीको सहजीकरणपछि आजबाट रेष्टुरेन्ट खोल्ने वातावरण तयार भएको जानकारी दिए । ‘सबै त नखुल्लान्, करिब आधा दर्जन सन्चालनमा आउलान् भन्ने अपेक्षा छ’ गुरुङले भने । तर सूर्तिजन्य पदार्थ र हुक्का बेच्न नदिने निर्णयप्रति भने उनको चित्त दुखाई छ । ‘लेकसाइडमा सबै खुल्ला छ, हामीलाई मात्रै रोक लगाइयो’ उनले भने ।

 

कोरोना कहरबीच करिब १ हजार बढी कर्मचारी विस्थापन हुनु परेको बताउँदै उनले ४ वटा दोहोरी रेष्टुरेन्ट नै बन्द हुन पुगेको उनले बताए । त्यस्तै, यसबीचमा ३ जना दोहोरीमा कार्यरत कर्मचारीले आत्महत्या गरेका छन् ।

कमेन्टहरु
Loading...