लमजुङ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय लमजुङका लागि आर्थिक वर्ष २०७७/७८ मा १८ करोड ९० लाख बजेट विनियोजन भएको छ । संघ र प्रदेशबाट आएको १८ करोड ९० लाख बजेटबाट कार्यालयको विभिन्न योजनाको काम सुरु भएको छ ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय लमजुङका डिभिजन प्रमुख प्रकाश लम्सालका अनुसार संघ सरकारबाट २ करोड ९ लाख ६० हजार र प्रदेश सरकारबाट १५ करोड ९१ लाख ३० हजार बजेट आएको छ । बजेटबाट यस वर्ष ४९ वटा योजनाको काम हुने भएको छ ।
उनका अनुसार यसवर्ष प्रदेश सरकार अन्र्तगत मझौला सिंचाई कार्यक्रम, काठेपुल प्रतिस्थापन कार्यक्रम, लघु जलविद्युत् आयोजना मर्मत, पहिरो नियन्त्रण, सिंचाई मर्मत कार्यक्रम र सर्वेक्षण कार्यक्रम रहेको छ । चालु आर्थिक वर्षमा हाल ३० प्रतिशत काम सकिएको कार्यालयले जनाएको छ । कोरोना भाइरस संक्रमणपछि लकडाउनले प्रभावित योजनालाई क्रमागत राखेर काम सुरु गरिएको लम्सालको भनाई छ ।
उनका अनुसार गत वर्ष ६० वटा योजना रहेकोमा कोभिडका कारण ४० वटा योजना अर्थात् ८५ प्रतिशत मात्र सम्पन्न भएको थियो ।
गण्डकी प्रदेशको मझौला सिंचाई योजना अन्तर्गत मस्र्याङदी गाउँपालिका ४ मा २६ लाख १९ हजार ५ सय ४३ मा ठेक्का सम्झौता भएका घोप्टे सिंचाई योजनाको काम सकिएको छ । यस्तै, दूधपोखरी गाउँपालिका ४ मा कालीखोलामा ७२ लाख ६५ हजारमा ठेक्का सम्झौता भएको ताजी सिंचाई योजनाको काम पनि सकिएको छ ।
आपतकालीन तारजाली खरिद कार्यक्रम समेत यसवर्ष रहेको छ । यसका लागि २० लाख बजेट रहेको र यसको ठेक्का सझौता जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय लमजुङले जनाएको छ ।