सुर्खेत । सुर्खेतमा थप १ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा निधन भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसन बसेका थिए । एक्कासि स्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालको कोभिड–१९ वार्डमा भर्ना गरिएको थियो ।
अस्पताल भर्ना हुँदा उनमा अक्सिजन स्याचुरेसन कम रहेको, अक्सिजन आदान प्रदानका साथै भेन्टिलेटरमा राखेर उपचार गरिएको र सुधार नभएपछि शनिबार राति निधन भएको महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
ती बिरामी बेहोस भएपछि छाती थिचेर ब्युँताउने प्रयास गरिएको थियो ।
स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनस्वास्थ्य कार्यालय सुर्खेतको समन्वय तथा नेपाली सेनाको सहयोगमा मृतकको शव व्यवस्थापनको तयारी भइरहेको बताएका छन् ।
यससँगै कर्णालीमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २० पुगेको छ ।
संक्रमितको संख्या ६ हजार ९ सय ८३
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट गरिएको परीक्षणमा थप १२ जनाको पहिचान भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै विभिन्न प्रयोगशालामा गरी हालसम्म ९३ हजार ३ सय ७३ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार ६ हजार ४ सय ५१ जना संक्रमणमुक्त भइसकेका छन् । रासस