डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका ३ वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका निज बालकलाई गाउँपालिका उपाध्यक्ष भगवती बमले उपचारका लागि ल्याउँदै गर्दा उनकै काखमा ज्यान गएको बताइएको छ ।
उक्त जिप दुर्घटनामा घाइते हुनेको संख्या ४ रहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको टाउको र ढाडमा गम्भीर चोट लागेको छ ।
उनका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडासचिव बैतडी सुर्यनया गाउँपालिका–६ मुलखटालीका २८ वर्षीया मञ्जु त्रिपाठी (अवस्थी), निजकी सासु अन्दाजी ६१ वर्षीया डम्बरी अवस्थी, केआइसिंह गाउँपालिका–४ का ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत अन्दाजी ४० वर्षीय हरिनारायण भट्ट रहेका छन् ।
यसैगरी घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का अन्दाजी ३० वर्षीय चालक कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ का २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ का ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने अन्दाजी २६ वर्षीय ग्लोबल बैंकमा कार्यरत टीकाराम गिरी रहेका छन् ।
दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएकाको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए राति नै प्रहरी निरीक्षक रवीन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको र घाइते चारै जनाको उद्धार गरी दिपायल पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । रासस