तनहुँ । तनहुँको दमौलीबाट नेकपाका ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारी संयन्त्रलाई बाईपास गरि हिजो मोटरेबल पुल उद्घाटन गरेको र आज पनि त्यसैगरी अर्को पुल उद्घाटनको तयारी गरेको विरोधमा राष्ट्रिय युवा संघले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको क्रममा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो ।
पक्राउ पर्नेहरुमा राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष ईश्वर बस्याल, नेकपा ब्यास नगरपालिका वडा नम्बर १ का अध्यक्ष ज्ञानेन्द्र बसौला सहित ५ जना नेकपाका कार्यकर्तालाई रहेका छन् । उनीहरुले दमौलीमा विरोध प्रर्दशन तथा नाराबाजी गरेका थिए ।
यता सम्भावित झडपलाई रोक्न जिल्ला प्रशासन कार्यालय तनहुँले कांग्रेस नेता रामचन्द्र पौडेलले पुल उद्घाटन गर्न लागेको स्थान व्यास नपा १ को तालघरे वरपर मानिस भेला हुन नपाउने गरि सांझसम्म निषेधाज्ञा जारी समेत गरेको छ ।
निषेधाज्ञाको समयमा ब्यास नगरपालिकाको वडा नम्बर १ तथा १० मा पर्ने मुख्य राजमार्गमा चल्ने सवारीसाधन बाहेक धाँसीकुवा, बुल्दीखोला, गल्फुबेसी लगायतका क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन पाइने छैन ।
यदि ५ जनाभन्दा बढी भेला भएको खण्डमा कारवाही गरिने जिल्ला प्रशासन कार्यालय तनहुँले जानकारी दिएको छ ।