बैतडी । कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ । मंगलबार गाउँपालिकाका थप ६ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिएका छन् । उनले भने, ‘कोरोना जोखिम बढेको छ, गाउँपालिकामा अहिले १६ सक्रिय संक्रमित छन्, विपद् व्यवस्थापन समितिको निर्णयानुसार लकडाउन गरिएको छ ।’
मङ्सिर २६ गतेसम्म हुने लकडाउनको अवधिमा छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइने र गाउँपालिका र ७ वटै वडा कार्यालयबाट प्रदान हुने आकस्मिकबाहेकका सबै सेवा बन्द हुने शाहको भनाई छ । यस्तै गाउँपालिकाभरिका विद्यालय बन्द रहनेछन् भने भीडभाड हुने खालका सबै कार्यक्रमका रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।
लकडाउनको अवधिमा दैनिक उपभोग्य पसल बिहान ८ देखि ९ बजेसम्म खुला राख्ने, गाउँपालिकाभित्रका बैंक तथा वित्तीय संस्था हप्ताको ३ दिन आइतबार, मंगलबार र बिहीबार मात्रै खुला रहने बताइएको छ । यस्तै लकडाउनको अवधिमा स्वास्थ्य सेवा प्रदायक संस्था, एम्बुलेन्सलगायतका सेवा पनि सञ्चालन हुने जनाइएको छ । पछिल्लो समयमा डिलाशैनी गाउँपालिकाको समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ ।
यसअघि जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि कोरोना जोखिम बढेको भन्दै मंसिर २२ सम्म लकडाउन गरेको छ । बैतडीमा हालसम्म ५ सय ६८ मा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ जनाको निधन भइसकेको छ । संक्रमितमध्ये ४ सय ९९ ले कोरोना जितेका छन् भने ६८ जना अझै सक्रिय अवस्थामै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
रेडक्रसका सेवा बन्द
नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आकस्मिकबाहेकका सबै सेवा बन्द भएको जनाएको छ । कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयलाई मंगलबार कोरोना पुष्टि भएपछि शाखाका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य तेजप्रकाश भट्टले जानकारी दिएका छन् ।
दशरथचन्द नगरपालिकाले मंसिर २२ गतेसम्मका लागि लकडाउन गरेकाले सोही दिनसम्म रेडक्रसले शाखामार्फत दिइने सेवा बन्द गर्ने निर्णय गरेको उनले बताएका छन् । रेडक्रस बैतडीले एक सूचना जारी गर्दै आकस्मिकबाहेकका सबै सेवा बन्द भएको जनाएको हो ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम अधिकृत पाण्डेयले आफ्नो सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । आफूमा समान्य लक्षण देखिएपछि कोरोना परीक्षण गरेको र रिपोर्ट पोजेटिभ आएकाले अहिले आफू आइसोलेसनमा बसिरहेको उनले बताएका छन् । पछिल्लो १ हप्ता सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न उनले आग्रह गरेका छन् । रासस