जगदम्बा स्टिल कम्पनीमा फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते

वीरगञ्ज । वीरगञ्जको जगदम्बा स्टिल कम्पनीमा फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते भएका छन् ।

वीरगञ्जको पथलैया औधोगिक कोरिडोरमा रहेको कम्पनीमा आज बिहान करीब पौने १ बजे उक्त भट्टी पड्किँदा २ जना नेपाली तथा २ जना भारतीय घाइते भएका हुन् ।

घाइतेमध्ये सर्लाहीको सख्रौल गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय विकेन्द्र यादवको अवस्था गम्भीर रहेको छ । प्रहरीले दिएको जानकारी अनुसार उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।

सोही जिल्लाकै बरहथवा नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय मकेश शाह पनि घटनामा परेर घाइते भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै घटनामा परेर भारतको बिहारस्थित शिवान जिल्लाका ४५ वर्षीय जनकदेव यादव तथा मोतिहारीका २६ वर्षीय नइमुदिन आलम समेत घाइते भएका छन् । घटनामा सामान्य घाइते भएका ३ जनाको वीरगञ्ज हेल्थ केयर हस्पिटल गण्डक बहुअरी तथा तराई अस्पताल सिमरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...