कालिकोट जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै

कालिकोट । कालिकोट जिल्लामा कोभिड–१९ का संक्रमितको संख्या घट्दै गएको छ । कोरोना नियन्त्रणका लागि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले समन्वकारी काम गर्दा संक्रमितको संख्या घट्दै गएको हो ।

जिल्लामा हालसम्म २ सय ४५ जनामा संक्रमण दखिएको र तीमध्ये सक्रिय संक्रमितको संख्या २ जनामात्र रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिएका छन् । ‘जिल्लाभर कोरोना संक्रमितको संख्या ४ रहेको थियो ।’ उनले भने, ‘२ जना आज नै संक्रमण निको भएर घर पठाइएको छ । हाल कोरोना विशेष अस्पतालमा २ जना मात्र रहनुभएको छ ।’

कोराना संक्रमण निको भएर हालसम्म २ सय ४३ जना घर फर्किएका र हालसम्म ६ हजार ६ सय ४९ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको उनले बताएका छन् । ९ स्थानीय तहमध्ये रास्कोटमा ३५, खाँडाचक्रमा २३, तिलागुफा नगरपालिकामा ३१, पलाँतामा ३, सान्नी त्रिवेणीमा ३८, नरहरिनाथमा ४३, शुभकालिकामा ३७, महावैमा १३, पचालझरना गाउँपालिकामा २ र अन्य जिल्लाका १७ जनामा कोरोना संक्रमण देखिएको कार्यालयले जनाएको छ । रासस

कमेन्टहरु
Loading...