म्याग्दी । कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएको बेनी–अर्थुंगे सडक स्तरोन्नति आयोजना सुरु भएको छ । आँपरुखदेखि अर्थुंगेको पुलाचौर जाने सडकको चोक जोड्ने सडकमा नाली बनाउने, ढलान गर्न र कालोपत्रे गर्न गत वर्ष ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयनको क्रममा कोरोना जोखिम, बन्दाबन्दी, मजदूर र निर्माण सामग्रीको अभावका कारण प्रभावित भएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीले करिब २५ प्रतिशत भौतिक प्रगति भएको आयोजनालाई आगामी चैत महिनासम्म म्याद थपेर चालु आर्थिक वर्षमा निरन्तरता दिइएको बताएका छन् । यो बेनी नगरपालिकाको सबैभन्दा ठूलो र महत्वपूर्ण आयोजना हो । १ करोड ३५ लाख लागत अनुमान गरिएको आयोजना खुसीहोम बिल्डर्सले ८८ लाखमा ठेक्का लिएको थियो । सम्झौताअनुसार २ सय मिटर ढलान, ७ सय मिटर कालोपत्रे गर्ने र ७ सय मिटर नाली बनाउने लक्ष्य छ । देउरालीमा ढलान सकेको ठेकेदारले सेनाको श्रीबक्स गुल्मको ब्यारेकमुनिको सडक ढलानको तयारी गरेको इञ्जिनीयर विमलरञ्जन कार्कीले बताएका छन् ।
बेनी नगरपालिकाको ४ र रघुगंगा गाउँपालिकाको २ वटा वडाका बासिन्दाले सदरमुकाम बेनी आवतजावत गर्न प्रयोग गर्ने यो सडक स्तरोन्नति गर्न बेनी नगरपालिकाले क्रमागत आयोजना सञ्चालन गरेको छ ।
आयोजनाको शुक्रबार अनुगमन गर्न पुग्नुभएका नगरप्रमुख हरिकुमार श्रेष्ठ लगायतको टोलीले निर्माण व्यवसायी मनोज कार्कीलाई थपिएको समयभित्र काम सम्पन्न गर्न र गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न निर्देशन दिएका छन् ।
आयोजना स्थलमा भेटिएको कमलस बालुवा प्रयोग नगर्न निर्देशन दिइएको थियो । यसअघि गत असारमा रिबाउण्ड ह्याम्बर उपकरणको प्रयोग गरेर नालीको ढलान परीक्षण गर्दा गुणस्तरअनुसारको नपाएपछि भत्काउन निर्देशन दिइएको थियो ।
सो नाली भत्काएर नयाँ बनाउन पुनःनिर्देशन दिइएको छ । यसैगरी अर्थुंगेमै निर्माण सुरु भएको वडा कार्यालय भवनलाई गति दिन ठेकेदार कम्पनीका प्रतिनिधि शिशिर शाहीलाई निर्देशन दिइएको छ ।
भवनको जग खन्ने मात्र काम भएको छ । वर्खामा पहिरो खसेपछि रोकिएको भवन निर्माणलाई तीव्रता दिने शाहीले प्रतिबद्धता जनाएका छन् । वडा कार्यालय भवन निर्माणका लागि पनि चैतसम्म म्याद थप भएको छ ।
प्रारम्भिक वातावरण परीक्षण गरेर मात्र सडक निर्माण गरिने
म्याग्दीको मंगला गाउँपालिकाले सडक निर्माण गर्नुअघि अनिवार्य प्रारम्भिक वातावरणीय परीक्षण (आइई) गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । विकास आयोजनालाई वातावरणमैत्री बनाएर विपद् न्यूनीकरण गर्न शुक्रबार बाबियाचौरमा भएको विशेष गाउँसभाले ‘स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन’ पारित गरेको छ ।
जथाभावी डोजर चलाएर खनिने र विस्तार गरिने सडकका कारण प्राकृतिक विपत्तिका घटना बढ्न थालेपछि सडक खन्नु अघि अनिवार्यरुपमा वातावरणीय परिक्षण गर्नुपर्ने नीतिगत व्यवस्था गरेको हो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले सभामा प्रस्तुत गर्नुभएको विधेयक सर्वसम्मतरुपमा पारित भएको थियो ।
गत भदौमा जिल्ला प्रशासन कार्यालयले बेनीमा आयोजना गरेको सर्वपक्षीय बैठकले प्रारम्भिक वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक खन्ने निर्णय गरेको थियो । सर्वपक्षीय बैठकको निर्णय र गाउँपालिकाको वातावरणमैत्री विकासलाई अघि बढाउने नीति कार्यान्वयनको लागि ऐन बनाइएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताएका छन् ।
ऐनमा सडकको नयाँ ट्रयाक निर्माणमा प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण गर्ने, फोहोरमैला व्यवस्थापन, नदीजन्य ढुंगागिट्टी लगायतका वातावरणीय स्रोत व्यवस्थापनका क्षेत्रलाई समेत समेटिएको छ । सभामा गाउँपालिकाले पहिलो चौमासिकमा ३ दशमलव २१ प्रतिशत पूँजीगत र २० दशमलव १९ प्रतिशत चालु प्रगति भएको विवरण प्रस्तुत गरिएको थियो । सभाले कार्यपालिका बैठकबाट भएका निर्णय अनुमोदन तथा योजना कार्यान्वयनको लागि आवश्यक अधिकार प्रत्यायोजन गरेको उपाध्यक्ष सिर्जना केसीले बताएका छन् ।
सभाले वडा नम्बर ५ पुलचोक–पिपलबोट–पाँखु–धारा– सिर्कुम– टीकाबाङ सडकखण्डको हाँडेभिरमा सडकको ट्रयाक निर्माण र नदी नियन्त्रण योजना सञ्चालनको लागि थप ५० लाख बजेटको स्रोत व्यवस्थापन गरेको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिएका छन् । उनका अनुसार, यसअघि ५० लाख बजेट विनियोजन भएको सो योजनामा सभाले ५० लाख थप गरी १ करोड बजेटको योजना ठेक्कामार्फत कार्यान्वयन गर्ने स्रोत व्यवस्थापन गरेको हो ।
संघीय सांसद भूपेन्द्रबहादुर थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको २४ लाख र गाउँपालिकाको सम्पूरक कोषबाट २६ लाख बजेटलाई समेटेर थप ५० लाख बजेट सो योजनामा थप गरिएको हो । रासस