काठमाडौं । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) बाट निर्णय नआउँदा कहिले खुल्ने भन्ने निश्चित नभएको हो ।
विश्वभर फैलिएको कोभिड–१९ का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्णरूपमा चिडियाखाना बन्द गरिएको थियो । लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्ने तयारी गरे पनि निर्णय नआएकाले अन्योल भएको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिएका छन् । ‘कोरोना संक्रमण कम भएको छैन, त्रास केही कम भएकाले सावधानी अपनाएर खोल्ने तयारी गरेको हो । त्यसका लागि मापदण्ड तयारी अवस्थामा छ ।’ पोखरेलले भने ।
मास्क अनिवार्य ल्याउनुपर्ने, एकपटकमा ८ सय मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीव–जनावरलाई खुवाउन छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ ।
यसअघिझैं हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ ।
हाल चिडियाखानामा १ सय १० प्रजातिका १ हजार ६८ जीव–जनावर रहेका छन् । यहाँ मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा आदि रहेका छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, ८ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।
उक्त स्थानमा अवलोकनका गर्न विदेशीका लागि ७ सय ५०, सार्क राष्ट्रका पाहुनाका लागि ५ सय, नेपालीलाई १ सय ५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० शुल्क निर्धारण गरिएको छ । वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने प्रवेश शुल्कबाट नै वार्षिक १५ देखि १६ करोडसम्मको आर्थिक कारोवार हुने गरेको छ ।
अवलोकन गर्न आएका अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जनावरलाई खानपानको व्यवस्थापन गर्दै आएको चिडियाखानामा विगत ८ महिनादेखि आम्दानी शून्य भएपछि खर्च व्यवस्थापन गर्न समस्या भएको छ ।
कोरोनाका कारण बन्द हुनुअघि ८० कर्मचारी कार्यरत थिए । अहिले व्यवस्थापन गर्नै समस्या भएपछि २० कर्मचारी कटौती गरिसकेको जनाइएको छ । अब तत्काल सञ्चालनमा नल्याए थप समस्या हुनेछ ।
उद्धार केन्द्र अभाव
सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव रहेको छ । जंगली जनावरले समय–समयमा मानव बस्तीमा आएर समस्या पार्ने गरेकाले तिनलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसरी मानव बस्तीमा आएर दुःख दिने जनावरलाई पहिलो चरणमै चिडियाखानामा राखिएका अन्य जनावरसँग घुलमिल गराएर राख्न समस्या हुन्छ ।
तिनलाई लामो समय स्वास्थ्य परीक्षण गर्नका लागि विशेष निगरानीमा राख्नुपर्छ तर चिडियाखानामा यस स्थानको अभाव छ । ‘प्रत्येक वर्ष १०/१५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएका जीवजन्तुलाई छ महिनादेखि १ वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, पशु चिकित्सकको निगरानीमा संरक्षण गरिराख्नुपर्छ, तर स्थान अभाव छ ।’ प्रमुख व्यवस्थापक डा पोखरेलले भने ।
थपियो डाँफे
विगत ८ वर्षपछि चिडियाखानामा १ जोडी डाँफे थपिएको छ । जुम्लाबाट ल्याइएको डाँफेलाई अहिले अवलोकनका लागि नराखी संरक्षणकक्षमा राखिएको छ । अन्य जीवजनावरको तुलनामा चराको प्रजाति यहाँ बढी छ ।
तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जंगबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गरेका हुन् । विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको हो । रासस