महोत्तरी । महोत्तरीमा बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका जिल्लाको गौशाला नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय अरुण शाहको घरमा स्थानीयले तोडफोड तथा आगजनी गरिदिएका छन् । शाह ६ वर्षीय बालिकाको हत्या गरेको आरोपमा परेका थिए ।
घटनास्थलमा प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार आगलागी निभाउन दमकल आएको भए पनि स्थानीयले बाटो अवरुद्ध गरेकाले दमकल आगलागी भएको स्थानसम्म पुग्न सकेको छैन ।
बालिका हत्या प्रकरणमा विरोध गर्दै स्थानीयले जिल्लाको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेपछि सवारीसाधन बीचमा नै रोकिएका छन् । सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो लाइन लागेको छ ।
बर्दिबास १४ का शहिद आलमकी ६ वर्षीय छोरी गुलाब शाह खातुन आइतबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको शव सोमबार साँझ बोरामा पोको पारेको अवस्थामा भेटिएको थियो । किराना पसल सञ्चालन गर्दै आएका अरुणले आफूले नै बालिकाको हत्या गरेको स्वीकार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।