राप्रपा अध्यक्षमा थापा र राणाको उम्मेदवारी

काठमाडौं, फागुन ८ /राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन अन्तर्गत आईतबार​ उम्मेदवार मनोनयन दर्ता भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा अध्यक्षमा कमल थापा र प्रदिप विक्रम राणाले उम्मेद्वारी दिएका छन् ।थापाको प्रस्तावमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र समर्थकमा पशुपतिशम्शेर राणा रहेका छन् ।

यस्तै प्रदिप विक्रम राणाको प्रस्तावकमा उमेश ध्वज कुँवर र समर्थकमा शंकर बोहरा रहेका छन् ।कमल थापाविरुद्ध उम्मेद्वारीको घोषणा गरेका डा. प्रकाशचन्द्र लोहनी भने अन्तिम समयमा पछि हटेका छन् । थापालाई अध्यक्ष बनाउने सहमति भएको केही समयमै लोहनीले उम्मेद्वारी दिने घोषणा गरेका थिए । उम्मेद्वारी बारे दावी, बिरोध लगायतका प्रक्रिया टुंग्याएपछि सोमबार​ निर्वाचन हुने आयोजक समितिले जनाएको छ ।महाधिवेशनले अध्यक्ष सहित नयाँ केन्द्रीय समिति चुन्ने छ । संशोधित विधान अनुसार महाधिवेशनले अध्यक्ष सहित १ सय ६१ सदस्यीय कार्यसमिति चुन्ने छ ।

शनिबार​ पारित भएको विधान अनुसार भोली अध्यक्ष र ९८ जना केन्द्रिय सदस्यका लागि चुनाव हुनेछ । नयाँ विधानमा ६० प्रतिशत केन्द्रिय सदस्य प्रत्यक्ष निर्वाचित हुने र बाँकी अध्यक्षले मनोनयन गर्ने प्रावधान छ । महाधिवेशनले अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक प्रतिवेदन, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पेश गरेको आर्थिक प्रतिवेदन र बुद्धिमान तामाङले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

कमेन्टहरु
Loading...