कास्कीको विद्यालय सुधार गर्न यस्तो निर्णय भयो

पोखरा, १५ साउन/ कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको अध्यक्षतामा सवै सहायक जिल्ला शिक्षा अधिकारीहरु, विद्यालय निरीक्षकहरु, सवै स्रोत केन्द्रका स्रोत व्यक्तिहरु, सवै स्रोत केन्द्र विद्यालयका प्रअ हरु समेत रहेको बैठकले जिल्लाका सवै स्रोत केन्द्रको सुधार गर्न र कास्कीको शैक्षिक सुधार गर्न निर्णयहरु गरेको छ । निर्णयहरु निम्न छन् ।

१ स्रोतकेन्द्रको आफ्नै भवन नभएका स्रोतकेन्द्रहरुलाई स्रोत केन्द्र विद्यालयहरुले भवन तथा कोठा, हल र फर्निचर उपलव्ध गराउने निर्णय गरियो । स्रोत केन्द्र भवन भएमा भवनलाई मर्मत सम्भार रङ्गरोगन समेत गर्ने निर्णय गरियो ।

२ स्रोत केन्द्रलाई व्यवस्थित गर्न स्रोत केन्द्र विद्यालय, प्रअ र स्रोत केन्द्रले सयुक्त प्रयास गर्ने र स्रोतकेन्द्रलाई ब्यवस्थित स्रोत मूलक, सूचना मूलक बनाउने निर्णय गरियो ।

३ स्रोत केन्द्रलाई सूचना प्रविधिले युक्त गराउन स्रोतकेन्द्र विद्यालयहरुले विद्यालयहरुसँग भएका कम्प्यूटर, ल्यापटप, मल्टिमिडिया प्रोजेक्टर, नेट इन्टरनेट स्रोतकेन्द्रलाई पनि उपलब्ध गराउने निर्णय गरियो । स्रोत केन्द्रले आफै पनि सूचना प्रविधिलाई प्रयोगमा ल्याउने र विद्यालय, कक्षाकोठा तथा शिक्षण सिकाइमा सूचना प्रविधि प्रयोगमा ल्याउन उत्प्रेरित गर्ने निर्णय गरियो ।

४ स्रोतकेन्द्रमा अति आवश्यक अभिलेखहरु, तथ्याङ्कहरु राख्ने, स्रोतकेन्द्र प्रोफाइल निर्माण गर्ने र भएका अभिलेखको परिमार्जन गर्ने निर्णय गरियो ।

५ स्रोत केन्द्रमा आवस्यक सूचनामूलक सामग्री, बार ग्राफ,चार्ट , तालिका द्वारा प्रदर्शन गर्ने र प्रस्तुति गर्ने ।

६ समुह विद्यालयहरुको अनुगमन र निरीक्षणलाई प्रभावकारी पार्न स्रोत केन्द्र प्रअ, बिषयगत शिक्षकहरु समेतको समुह सुपरिबेक्षण समेत गर्ने, स्रोत व्यक्ति र विद्यालय निरीक्षकबाट विद्यालयको अनुगमनको क्रमलाई बढाउने ।

७ समुह विद्यालयको शैक्षिक अवस्था सुधार गर्न र विद्यार्थीको शैक्षिक उपलव्धि बृद्धिगर्न जिल्ला शिक्षा कार्यालय, विद्यालय निरीक्षक, स्रोत व्यक्ति र सवै स्रोत केन्द्रविद्यालयहरु सक्रियता साथ लाग्ने निर्णय गरियो ।

८ राष्ट्रीय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई सफल पार्न सवै सक्रियता पुर्वक लाग्ने ।

९ यि माथिका निर्णयहरु र जिल्ला शिक्षा कार्यालय कास्कीमा २०७३।४।१४ र १५ गतेको छलफलबाट स्रोतकेन्द्र बिकासकालागि निस्कर्ष निकालिएका कार्यहरु अगाडि बढाउन स्रोत केन्द्र प्रअहरुको बैठक राखी छलफल गरि स्रोत केन्द्र विद्यालयको प्रअको अगुवाईमा निर्णयहरु कार्यान्वयन गर्ने ।

१० पठन उत्प्रेरक छनौटकोलागि विद्यालय निरीक्षक, स्रोतव्यक्ति, स्रोत केन्द्र प्रअ र पठन उप्रेरकको लागि दरखास्त दिने सम्वन्धित विद्यालयको प्रअ हरुको बैठक बसी छलफल गरि छनौट प्रक्रिया अगाडि बढाउने ।

११ यी निर्णयहरु कार्यान्वयनको अवस्थाको समिक्षा गर्न र थप विकासकोलागि कम्तिमा चौमासिक रुपमा स्रोत केन्द्र प्रअ, स्रोत व्यक्ति, विद्यालय निरीक्षक र जिल्ला शिक्षा कार्यालयको संयुक्त बैठक बस्ने समेत निर्णय समेत गरियो ।

कमेन्टहरु
Loading...