मानसिक स्वास्थ्य नीति तयार

काठमाडौं, २५चैत /स्वास्थ्य मन्त्रालयले राष्ट्रिय मानसिक स्वास्थ्य नीति तयार गरेको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य दिवसका अवसरमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्रालयले मानसिक स्वास्थ्य नीति तयार गरी मन्त्रिपरिषद लैजाने तयारी गरिसकेको जानकारी दिएका छन् ।

मानसिक स्वास्थ्य नीति अनुसार सरकारी अस्पतालहरुमा मानसिक उपचार सम्वन्धी छुट्टै युनिट स्थापना गर्ने क्रम विस्तार गर्ने र स्वास्थ्य मन्त्रालय मातहतका निकायहरुमा छुट्टै मानसिक स्वास्थ्य संवन्धी निकायहरु बनाउने व्यवस्था गरिने छ ।त्यस्तै मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको उपचार, हेरचाह र सामाजिक समावेशीकरण सुनिश्चिताको लागि मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति र उनीहरुको परिवारको सदस्यहरुलाई संलग्न गराई मानसिक स्वास्थ्य स्वावलम्वन समुह गठन गरी क्रियाशिल गराईने भएको छ ।

नीतिमा उल्लेख भएबमोजिम कडा मानसिक रोगीहरूको उपचार र सेवाका लागि मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका साझेदार संस्थाहरुसँगको सहकार्यमा पुनस्र्थापना र उपचारको प्रकृया शुरु भइसकेको मन्त्री थापाले जानकारी दिए । नेपालमा लगभग २० लाख बालबालिका तथा किशोरकिशोरीहरु मानसिक स्वास्थ्य समस्याबाट प्रभावित भएको अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...