पोखरा र विराटनगर सिधा हवाई सेवा जोड्न चाहन्छौः मुख्यमन्त्री राई

विराटनगर‐ १३ असोज/ गण्डकी प्रदेशका अन्तर प्रदेश भ्रमण टोली प्रदेश नं एक पुगेको छ । टोलीले सोमबार विराटनगर पुगेर प्रदेश मुख्यमन्त्री शेरधन राईको टोलीसंग दुई प्रदेशको पर्यटन प्रर्वद्धन र सहकार्य विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ ।

विराटनगरका विभिन्न उद्योगी व्यावसायी सहितको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री राईले आफ्नो प्रदेशले पोखरा विराटनगर सिधा हवाई सेवा सुरुवात गर्न चाहेको बताए । दुवै प्रदेश पर्यटनको प्रचुर संभावना भएको प्रदेश भएकाले हवाई सेवाको माध्यामबाट पर्यटक अदान प्रदानमा सहयोगी हुने विश्वास व्यक्त गरे ।

हवाई सेवाका लागि आफ्नो प्रदेशले प्रक्रिया सुरु गरिसकेको जानकारी गराउदै गण्डकी प्रदेशको यसमा सहयोग भएमा हवाई सेवा चाडै सञ्चालनमा आउने समेत उनको भनाई थियो । सगरमाथा, पाथीभरा, हलेसी लगायतका क्षेत्र आफ्नो प्रदेशको पर्यटकीय क्षेत्रहरु भएको बताउदै यी गन्तव्यमा घुम्न आउन समेत गण्डकी प्रदेशवासीलाई उनले आग्रह गरे ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री विकास लम्सालले आफुहरु पनि पोखरा विराटनगर हवाई सेवा सुरुवात होस भन्ने पक्षमा रहेको बताए । यसका लागि प्रक्रिया चाडै अगाडि बढ्ने बताउदै यसबाट पर्यटन आगमनमा थप सहज हुने विश्वास व्यक्त गरे ।

उनले आन्तरिक पर्यटकको स्वागतका लागि गण्डकी प्रदेशका् गतव्यहरु तयार रहेको सन्देश दिनका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताउदै सवैलाई प्रदेशमा भ्रमणमा आउन आग्रह गरे । कार्यक्रममा बोल्दे विराटनगरका व्यावसायीहरुले समेत पोखरा विराटनगर सिधा हवाई सेवाले पर्यटनमा सकरात्मक प्रभाव पार्ने बताएका थिए ।

समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई कार्यक्रमले सहयोग पुग्छ मुख्यमन्त्री पौडेल

भ्रमण टोलीले आइतबार हेटौडामा समेत अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रममा बोल्दै प्रदेश नं. तीनका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धि नेपाल, सुखी नेपालीको यात्रामा गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सवैले राष्ट्रको विकासमा योगदान दिन जरुरी रहेको बताउदै पर्यटनका माध्यामबाट गण्डकी प्रदेशले प्रगति गर्न सक्ने संभावना रहेको बताए ।

उनले गण्डकी प्रदेशले दिएको प्रदेश भ्रमणको निम्तालाई आफ्नो प्रदेशमा प्रचार प्रसार गर्न प्रदेश सरकारको सहयोग हुने बाचा समेत गरे । कार्यक्रममा पर्यटन प्रर्वद्धन कार्यक्रमका संयोजक जुद्ध गुरुङ सस्कृति, प्रकृति र साहसिक पर्यटनको नमुनाको रुपमा गण्डकी प्रदेश रहेको अथ्याउदै प्रदेशको प्राकृतिक सौन्दर्यताको फाइदा उठाउन प्रदेश नं तीनको स्थानीयलाई अनुरोध गरे ।

भ्रमण टोलीमा नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशले फोटो प्रर्दशनी गरिरहेको छ भने कलाकारहरुको टोलीले प्रदेशमा प्रचलित विभिन्न सास्कृतिक झा“कीहरुको प्रर्दशन गरिरहेको छ ।

कमेन्टहरु
Loading...