विश्वकपमा फ्रान्स र अर्जेन्टिना भिड्दै

पोखरा, १६ असार /रुसमा जारी विश्वकप फुटवलमा आजदेखि नकआउट चरणका खेल शुरु हुदैछन् । आजको पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन् ।

अर्जेन्टिना र लियोनेल मेसीले विश्वकपमा यात्रा लम्बाउन स्वभाविक क्षमता अनुसारको प्रदर्शनबाट अझै टाढा देखिएको फ्रान्ससँग रुसको काजानमा शनिबार साँझ भेट हुँदा आफू चाँही फर्ममा फर्केको प्रमाण दिनुपर्नेछ।

अन्तिम १६ अन्तर्गतको पहिलो खेलमा भेट हुने फ्रान्स र अर्जेन्टिना दुवैले अहिलेसम्म प्रतियोगितामा आफ्नो छविअनुसार प्रदर्शन गर्न सकेका छैनन्।

यी दुवै टिम विश्व फुटवल जगतमा निकै प्रख्याती कमाएका टिम र मुलुक हुन्। साँझको खेलमा पल पोग्वा, एन्टोनी ग्रिजम्यान, लियोनल मेसी, एन्जेल डी मारिया लगायतका खेलाडीको कस्तो जादु चल्ने हो, सबै प्रतिक्षारत छन् ।

समूह चरणअन्तर्गत क्रोएसियाविरुद्धको खेलमा ३–० ले पराजित हुँदा अर्जेन्टिनी टोलीमा खेलाडीको ढल्कँदो उमेर र असन्तुलन प्रष्ट देखिएको थियो। तर डिएगो म्याराडोनाबाट निर्देशित मेसीले अन्तत प्रतियोगितामा गोलको खाता खोलेको खेलमा मार्कोस रोहोले सनसनीपूर्ण भलीमा गोल गरेपछि २०१४ को उपविजेता टोली नाइजेरियालाई हराउँदै नकआउट चरणको टिकट काट्न सफल भयो ।

कमेन्टहरु
Loading...