क्यानेडियन वालेस ‘वालिङ १००’ साइक्लिङ रेसको उपाधि

पोखरा, २७ फागुन/चार महिना अघि याक एट्याक माउण्टेन बाईक रेस च्याम्पियन बनेको क्यानडाका करी वालेसले शनिबार राती अबेर वालिङ साईक्लिङ १०० को उपाधि जितेका छन् ।

नेपालका साईक्लिष्टलाई पछि पार्दै उनले १००किलोमिटरको दुरीलाई ६ घण्टा २० मिनेट ५८ सेकेण्डमा पुरा गर्दै ‘वालिङ १०० टाईटल’ जिते । नगद पुरस्कार ५ लाख रुपैयाँ प्राप्त गरे । नेपाली सेना र शसस्त्र प्रहरी बलका साईक्लिष्टहरुलाई पछि पार्दै उनले विदेशी भूमीमा वर्षको दोस्रो टाईटल उपाधि उचाले ।

अघिल्लो महिना मात्रै अन्तराष्ट्रियस्तरको साईक्लिङ रेस पोखरा आईभी (चौथो) भने उनले सहभागिता जनाएनन् । आँधीखोलको तिर वालिङ खेलमैदानबाट शुरु भएको रेस विरुवा गाउँपालिका, गल्याङ नगरपालिका र भीरकोट नगरपालिकाका सबै वडालाई छुदैं बनाइएको रुट पुरा गरेपछि वालेसले आयोजकसँग प्रतिक्रिया दिने क्रममा विश्वकै उत्कृष्ठ रेस भएको संज्ञा दिए ।

वालिङ नगरपालिकाले पहिलो पटक आयोजना गरेको रेसमा हर्कबहादुर लामाले ७ घण्टा २६ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा चित्त बुझाए । कमल ओलीले ८ घण्टा ४५मिनेट २२ सेकेण्डको समय लगाउँदै तेस्रो र सन्तोष गुरुङले ९ घण्टा ४१ मिनेट ५२ सेकेण्डमा पुरा गर्दै चौथो स्थानमा चित्त बुझाए ।

वालेसले टाईटल पुरस्कार जितेपछि उनीहरुलाई प्रथम, द्धितीय र तृतीय पुरस्कारबाट सम्मानित गरिएको थियो । लामाले डेढलाख रुपैयाँ नगद पुरस्कार पाउँदा ओलीले ५० र गुरुङले ३० हजार रुपैयाँ प्राप्त गरे ।

महिला तर्फको प्रतिस्पर्धामा नेपाली साईक्लिङ प्रतिस्पर्धामा एकछत्र आधिपत्य जमाएकी लक्ष्मी मगरले प्रथम पुरस्कार हात पारिन् । उनले निर्धारित १०० किलोमिटरको दुरीलाई ८ घण्टा ९ मिनेट २६ सेकेण्डमा पुरा गर्दै ३ लाख रुपैयाँ नगदराशीको पुरस्कार आफनो नाममा लेखाएकी हुन् । त्यसैगरी सोनी गुरुङ भने दोस्रो स्थानमा रहँदै नगद ५० हजार प्राप्त गरिन् । उनले ८ घण्टा ५१ मिनेट ५६ सेकेण्डका समय लगाउँदै पुरा गरेकी थिईन् ।

नेपाली साईक्लिष्ट अजय पण्डित भने उपाधिविहीन बन्न पुगे । उनले दुरीलाई १० घण्टा बढीको समय लगाउँदै पुरा गरेका थिए । प्रतियोगिताका संयोजक दिङ्कर नेपालका अनुसार अजय पण्डितले १० घण्टा ५८ सेकेण्डको समयमा पुरा गरेका थिए । केही प्रतियोगितले उल्टो रुटमा जाँदा केही समस्या समेत हुन पुगेको आयोजकको ठम्याई छ ।

उनले ६९० मिटरको उचाईबाट शुरु भएको प्रतियोगिता १५९० मिटरको उचाईसम्मको उकालीओराली ग्रामीण रुटमा साईक्लिङ गरेका थिए । प्रतियोगितामा २१ पुरुष र ६ महिलाको सहभागिता रहेको थियो । विदेशी प्रतिस्पर्धीमा दुईजना एक महिला र एक पुरुष मात्रै थिए । दुवै क्यानडाका रहेको संयोजक नेपालले जानकारी दिए । नेपाली सेनाका ५ जना पुरुष र शसस्त्र प्रहरी बलका २ पुरुष र एक महिला साईक्लिष्टको सहभागिता रहेको थियो ।

तस्बिर अरुण गिरी जक्सन डटकम

कमेन्टहरु
Loading...