भलिबल प्रतियोगिताको तयारी पुरा

पोखरा, २७ चैत/नयाँ वर्ष २०७३ को अवसरमा सामुदायिक सेवा केन्द्र बैदामले आयोजना गर्न लागेको अन्तर सामुदायिक तथा अन्तर पर्यटन संघसंस्थावीच मैत्रीपूर्ण भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
चैत्र २९ देखि पोखराको बसुन्धरा पार्कमा हुने प्रतियोगितामा सामुदायिक र पर्यटन दुवैतर्फ ७÷७ टिमले भाग लिने प्रतियोगिता संयोजक रमेश पहारीले जानकारी दिए । दुई दिने प्रतियोगितामा दुबै तर्फका विजेतालाई खसि र उप–विजेतालाई बोका तथा कप मेडल प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । त्यसै गरि विभिन्न विधाका खेलाडीहरुलाई पनि फरक फरक रुपमा पुरस्कृत गरिने जनाइएको छ ।

आपसमा शुभ–कामना साटनुका साथै आपसि सद्भाव बृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक केन्द्रका उपाध्यक्ष भिम पराजुलीले बताए । पश्चिमाञ्चल होटल संघले आयोजना गर्ने फेवा नववर्ष महोत्सवमा थप उत्सव थप्नका लागि आयोजना हुन लागेको प्रतियोगिता सम्पन्न गर्न झण्डै २ लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

प्रतियोगिता सफल पार्न सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष विष्णु भट्टराईले २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् भने पश्चिमाञ्चल होटल संघले पन्ध्र हजार, महेन्द्र गुरुङ्ग, सोभित परियार, मिना भट्टराईले जनही दश–दश हजार सहयोग गरेका छन् । रेवान पोखरा, अनिल श्रेष्ठ अन्य सहयोगीमा रहेका छन् ।

कमेन्टहरु
Loading...