टिभिएस पोखरा स्पोर्टस् अवार्ड जित्ने खेलाडीलाई मोटरसाइकल

पोखरा, २३ वैशाख/‘तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड’मा उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने भएका छन् । स्पोर्टस् अवार्डको तेस्रो संस्करण आईपुग्दा बतास ब्रदर्श प्रा.लि.ले मुख्य प्रायोजन गरेपछि खेलाडीलाई मोटरसाइकल र स्कुटर प्रदान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले जनाएको छ ।

तीन वर्षका लागि उत्कृष्ट खेलाडीका लागि मोटरसाइकल र स्कुटर प्रदान गर्ने सम्बन्धमा बतास ब्रदर्श प्रालि र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आईतबार आयोजित विशेष कार्यक्रमका बीच बतास ब्रदर्श प्रालिका निर्देशक विपेन्द्रराज बतास र मञ्चका अध्यक्ष केशव पाठकले सम्झौतापत्रमा हस्ताक्षर गरे । आगामी जेठ १८ गते हुने अवार्डमा वर्ष उत्कृष्ट खेलाडी पुरुषले टिभिएस अपाचे मोटरसाइकल र वर्ष उत्कृष्ट खेलाडी महिलाले टिभिएस विगो स्कुटर प्राप्त गर्नेछन् ।

निर्देशक बतासले अघिल्ला दुई संस्करणमा पोखरा स्पोर्टस् अवार्डलाई नजिकबाट नियालेको जनाउँदै यसले यहाँको खेलकुदको विकासमा योगदान दिएको महसुस भएको बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जिल्लामा खेलेरै लाखौंको सवारी चढ्न पाउने अवस्था खेलकुद पत्रकार र बतास ब्रदर्शले मिलाएकोमा खुशी प्रकट गरे । मञ्चका अध्यक्ष केशव पाठकले पत्रकारिता कर्ममा रहेर पनि खेलकुदको विकासमा टेवा पुग्ने ध्येयले पत्रकारले नै थालेको अभियानमा अग्रणी संस्था बतास ब्रदर्शको साथ पाउँदा निकै खुशी मिलेको बताए ।

तेस्रो संस्करण सम्पन्न गर्न उपाध्यक्ष दिननाथ बरालको संयोजकत्वमा मूल आयोजक समिति, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल लगायत सम्मिलित सल्लाहकार समिति बनिसकेको छ । मञ्चले उपसमिति गठन गर्दै मनोनित खेलाडीको नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

यस वर्ष पनि खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ । यसअघि, अग्रज खेलाडीहरु कृष्ण थापा र खड्कबहादुर रानाभाट सम्मानित भईसकेका छन् । उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उदयीमान खेलाडी तथा प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरिनेछ । यस वर्ष पपुलर प्लेयर अवार्ड समेत थपिनेछ । यस्तै, उत्कृष्ट खेल पत्रकारलाई समेत नगद सहित सम्मान गरिनेछ ।

कमेन्टहरु
Loading...