भद्रकाली ट्याक्सी इकाईले गर्ने फुटबल प्रतियोगिताका तयारी पुरा

पोखरा, २४ भदौ/भद्रकाली ट्याक्सी इकाई समितिको आयोजना तथा ट्याक्सी व्यवसाय समिति पोखराको प्रायोजनमा पोखरामा हुन लागेको अन्तर ट्याक्सी इकाईस्तरीय प्रथम सेभेन–ए–साइड फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिता प्रचार प्रसार टिम दर्ता खेलकुद मैदानको व्यस्थापन लगाएतका सम्पूर्ण तयारी पुरा भएको समितिका सचिव एवम् प्राचर प्रसार समितिका संयोजक पुर्ण जि.सीले जानकारी दिए ।

प्रतियोगिता भदौ २६ देखि २९ गतेसम्म पोखरा – १३ संगमटोलस्थित माछापोखरी खेल मैदानमा संचालन हुने छ । समितिका अध्यक्ष श्रीप्रसाद गुरुङका अनुसार, ट्याक्सी चालकवीच आत्मियता, सद्भाव एवं खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता सम्पन्न गर्न झण्डै चार लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा विजेता समुहलाई नगद ५५ हजार पाँच सय ५५ शिल्ड, मेडल, प्रमाण पत्र र उपविजेतालाई ३३ हजार तीन सय ३३ शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

त्यसैगरी, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट डिफेण्डर, बेष्ट गोलकिपर, बेष्ट स्ट्राइकर र अनुसाशित समुहलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि इकाई अध्यक्ष श्रीप्रसाद गुरुङको संयोजकत्वमा आयोजक समिति र विभिन्न पाँच वटा उपसमितिहरु गठन गरिएको छ । जसमा भिम गुरुङको संयोजकत्वमा खेल संचालन, मिनबहादुर नेपालीको संयोजकत्वमा पार्किङ व्यवस्थापन, सुकदेव नेपालीको संयोजकत्वमा सुरक्षा, गोपाल त्रिपाठीको संयोजकत्वमा अर्थ संकलन र पुर्ण जि.सीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ ।

कमेन्टहरु
Loading...