तेक्वान्दो विकास साझेदारी परियोजना सुरु

पोखरा, १४ मंसिर / नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको आयोजना तथा युके स्पोर्टस् काउन्सिलको सहयोगमा नेपालको लागि तेक्वान्दो विकास साझेदारी परियोजना उद्घाटन गरिएको छ ।

सो कार्यक्रमअन्तर्गत प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । बेलायतका ६ जना प्रशिक्षकद्धारा लिइने तालिममा गण्डकी प्रदेशका १५ जनासमेत गरी देशभरबाट झण्डै ६० जनाको सहभागिता छ । सो तालिमको आज एक समारोहबीच प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गर्नुभयो ।

उहाँले सो अवसरमा पोखरालाई पर्यटकीय राजधानीमात्र नभई खेलको राजधानी सहरको रुपमा विकास गर्न प्रदेश सरकार लागिरहेको बताउनुभयो ।उहाँले राष्टको शिर उचो गराउने खेलाडीलाई अबको दिनमा उच्च सम्मान गर्न प्रदेश सरकार पछि नपर्ने समेत उल्लेख गर्नुभयो ।

नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरिश्वर पोखरेलले नेपालको खेलजगतमा देशको नाम उचो राख्न सक्ने तेक्वान्दो अग्रस्थानमा आउने बताउनुभयो । यूके स्पोर्टस्का अन्तर्राष्ट्रिय मामिला सल्लाहकार क्याथरिन स्वीटले खेलको माध्यमबाट दुई देशको सम्बन्ध प्रभाढ गराउने र अन्तर्राष्ट्रियमा उपलब्ध कार्यक्रमलाई खेलाडीमाझ पु¥याउने कार्यक्रमको लक्ष्य रहेको बताउनुभयो ।

नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश अध्यक्ष जगन गुरुङले मुलुक संघीय संरचनामा गइरहेको बेला खेल क्षेत्रलाई पनि सोही अनुरुप लैजाउनुपर्ने बताउँदै गण्डकी प्रदेशले खेलाडीको सीप विकासको लागि थप कार्यक्रमहरु संचालन गर्ने जानकारी दिनुभयो । कार्यक्रममा संघ गण्डकी प्रदेशका महासचिव रमेश पौडेल, संघका कास्की जिल्ला उपाध्यक्ष निर्मला बराल लगायतले गण्डकी प्रदेशमा भएका तेक्वान्दोका गतिविधिबारे बोल्नुभएको थियो ।

कमेन्टहरु
Loading...